काठमाडौं – नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल २०१६ सालमा स्याङ्जामा जन्मिएका हुन्। हाल नेकपा एमालेका उपाध्यक्ष पौडेल चौथो पटक अर्थमन्त्रीको पदभार समाल्न पुगे । ०४७ सालमै नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाएका पौडेल सातौं महाधिवेशनपछि अशोक राईसँगै स्थायी कमिटी सदस्य बनेका थिए। उनी ०६५ सालको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिव र ०७१ को नवौं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भए।
संसदीय राजनीतिमा उनी ०५१ सालबाट प्रवेश गरेका हुन् । ०५१ मा पाल्पा क्षेत्र नम्बर ३ बाट सांसद जितेका पौडेल ०५४ सालमा युवा तथा खेलकुद मन्त्री बनेका थिए । ०५६ मा रुपन्देही झरेका पौडेल क्षेत्र नम्बर ३ मा पराजित भए। त्यस पश्चात् पुनः ०६४ सालमा सोही क्षेत्रबाट निर्वाचित भए ।
यसबीचमा उनी ०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री बनेका थिए भने झलनाथ खनालको पालामा रक्षामन्त्री बने। केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला अर्थमन्त्रीका रुपमा उनले आफूलाई सफल बनाएका थिए। त्यसपछि पुनः कोरोनाको बेला उनी अर्थमन्त्री भएका थिए ।
उनी २०७२ मा ओली पटक –पटक प्रधानमन्त्री बन्दा अर्थमन्त्री बनेका थिए। ओलीको दोस्रो कार्यकालमा सुरुवातमा युवराज खतिवडा अर्थमन्त्री थिए। उनी बाहिरिएपछि २०७७ मा पौडेलले नै सो मन्त्रालय सम्हालेका थिए। त्यो उनको दोस्रो कार्यकाल थियो। २०७८ वैशाखमा प्रधानमन्त्री ओलीले राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त भएपछि पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका थिए। सोही कार्यकालमा उनी उपप्रधानमन्त्री पनि भएका थिए।
किन लगानीकर्ता अर्थमन्त्री पौडेललाई मन पराउँछ ?
नवनियुक्त अर्थमन्त्री पौडेल पुँजी बजारका लगानीकर्ताले मन पराएका अर्थमन्त्रीको रुपमा चिन्छिन् । नयाँ सत्ता समीकरणसँगै उनी अर्थमन्त्री बन्ने हल्लाले शेयर बजारमा हरियाली छाएको थियो । पौडेलले यसअगाडिका कार्यकालमा शेयर बजार लक्षित नीतिगत सुधार गरेको भन्दै विशेषगरी लगानीकर्ताको रोजाइमा उनी पर्ने गरेका छन् । पौडेल यसअघी तीनपटकसम्म अर्थमन्त्री हुँदा उनको कार्यकालमै शेयर बजारले नयाँ उचाई चुमेको रेकर्डहरु पनि छन्। सोही कारण पनि विष्णु पौडेल शेयर बजारका लागि खास अर्थमन्त्रीको रुपमा चिनिन्छन् । उनले २०७३ साल साउन ५ गते आफनो कार्यकालमा ब्रोकर कमिशन घटाएका थिए। सो निर्णय गरेको एक सातामै नेप्से इन्डेक्स १८८१.४५ को विन्दुमा कायम भएर नयाँ रेकर्ड राखेकाे थियाे। त्यसपछि पनि उनले ३३ प्रतिशतसम्म ब्रोकर कमिशन घटाएका थिए । त्यस बखत पनि शेयर बजारमा उत्साहत छाएको थियो।
पहिलो कार्यकाल (२०७२ असोजदेखि २०७३ साउन): नेप्से ११९० देखि १८८२ अंकसम्म
दोस्रो कार्यकाल (२०७७ असोज देखि २०७८ असार) : नेप्से १५०८ देखि ३१६३ अंकसम्म
तेस्रो कार्यकाल (२०७९ पुसदेखि २०७९ फागुन) : नेप्से १८६७ देखि २२१५ अंकसम्म
उनको यसअगाडिका तीनवटै कार्यकायलमा शेयर बजारमा उछाल आएको थियो । जसकारण उनी पुँजीबजारका लागि रुचाइएका अर्थमन्त्रीमा गनिन्छन्। सन् २०१५ मा उनी अर्थमन्त्री हुँदा शेयरबजार ९ सयमा चलेको थियो । उनको एक वर्षकै कार्यकालमा बजार डबल बढेर १८८१ को उच्च विन्दुमा पुगेकाे थियो। उनी दोश्रोपटक अर्थमन्त्री हुँदै गर्दा पनि बजार १३०० आसपासमा थियो । कोभिडको समयमा अर्थमन्त्री बन्न विष्णु आइपुगेका थिए। उनले दोश्रोपटक अर्थमन्त्रालयमा प्रवेश गरेपछि बजारमा उछाल आएको थियो। त्यसपछि बजारले पुनः नयाँ उचाई चुमेको थियो । गत वर्षको पुसअघि एमालेसहितको सत्ता गठबन्धन बन्दा पनि विष्णु पौडेल तेश्रोपटक अर्थमन्त्री बनेका थिए । उनी अर्थमन्त्री भएसँगै शेयर बजारमा उछाल आएको थियो। तीन पटकसम्म अर्थमन्त्री बनेका उनलाई शेयर बजारले पूर्ण विश्वास गरेको कारण पुँजी बजारमा उनको छुट्टै पहिचान छ।
यस पटक पनि अर्थमन्त्रीमा पौडेल आउने खबरसँगै केही समय यता सुस्ताएको शेयर बजारले गति लिएको थियो। पुँजी बजारले पौडेललाई विगतको कार्यकालमा झैँ हरियो झण्डा देखाएर स्वागत गरेको छ। यसपटक अर्थमन्त्री बन्दा पुँजी बजारका लगानीकर्ताहरुमा आशा जगाएका पौडेलको कार्यकालमा शेयर बजारले कस्तो गति लिन्छ त्यो भने हेर्न बाँकी नै छ।
प्रतिक्रिया