याे साता शेयर बजारका लागि कस्ताे रह्याे ?

याे साता शेयर बजारका लागि कस्ताे रह्याे ?


काठमाडौं – यो साता शेयर बजारका लगानीकर्ताहरुलाई मौद्रिक नीति र राजनीतिक घटनाक्रमले प्रभाव पार्याे । मौद्रिक नीतिको अपेक्षामा रहेका लगानीकर्ताहरु राजनीतिक घटनाक्रमबाट अछुतो रहन सकेनन् भन्दा फरक नर्पला। आर्थिक वर्ष सकिन केहि साता मात्रै बाँकी छ। लगानीकर्ता कम्पनीको वित्तीय रिपोर्ट कुरेर बसेका छन्। संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सत्ता परिवर्तनका लागि सहमति भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार आएको थियो ।

पुँजी बजारका चार संगठनले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिमा समेट्नुपर्ने १० बुँदे सुझाव समेत यही साता पेश गरेका छन्। राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय पेस गर्न आग्रह गरेपछि नेपाल शेयरधनी संघ, जनरल इन्भेस्टमेन्ट एशोसिएसन, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त रुपमा १० बुँदे सुझाव दिएका हुन्।

सुझावमा मार्जिन प्रकृतिको कर्जामा पछिल्लो अर्थिक वर्षमा गरिएको प्रत्यक्ष नियन्त्रणमुखी नीति (अधिकतम १५/२० करोडको सीमा) लाई तत्काल हटाई पूर्ववत कायम गर्नुपर्ने, धितोपत्रमा दिइने ५० लाखभन्दा माथिका मार्जिन कर्जामा रहेको जोखिमभार १०० प्रतिशतमा झानुपर्ने माग समेटिएको थियो। यस्तै, मार्जिन प्रकृतिको कर्जा दिने उद्देश्यका लागि गणना गरिने औसत मूल्य ६ महिनाको सट्टा ३ महिनाको औसत मूल्यमा गणना गर्नुपर्ने लगायतका विषय पनि समटिएका थिए।

साताको पहिलो दिन दोहोरो अंकले घटेको शेयर बजार

यो साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको थियो । त्यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८३ अकंले घटेर २०३७.०९ बिन्दुमा बन्द भएको थियो । त्यसदिन ३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको थियो ।आइतबार ११ उपसूचक राताम्य हुँदा बैंकिङ्ग समूहको ०.७० प्रतिशत, विकास बैंक समूहको ०.८० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४० प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.६६ प्रतिशतले शेयर मूल्य घटेको थियो।

साताको दोस्रो दिन दोहोरो अंकले बढेको शेयर बजार

साताको पहिलो दिन दोहारो अंकले घटेका शेयर बजार सोमबार दोहोरो अंकले नै बढ्याे । आइतबार १४.८३ अंकले घटेको शेयर बजार सोमबार १६.२९ अंकले बढेको थियो । त्यसदिन नेप्से १६.२९ अकंले बढेर २०५.३८ बिन्दुमा बन्द भएको थियो। सोमबार ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँको शेयर कारोबार भएको थियो। साेमबार ११ उपसूचकमा हरियाली छाउँदा बैंकिङ्ग समूहको २.०४ प्रतिशत, विकास बैंक समूहको १.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८० प्रतिशत, जीवन बीमा समूहको ०.५३ प्रतिशत र निर्जीवन बीमा समूहको ०.४९ प्रतिशतले शेयर मूल्य बढेको थियो ।

साताको तेस्रो कारोबारको दिन मंगलबार, दुई पटक सकारात्मक सर्किट

साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारका लागि खास रह्यो । सरकार परिवर्तनको हल्लाले त्यसदिन शेयरबजारमा दुईपटक सकारात्मक सर्किट लागको थियो । मंगलबार ११ बजेर १ मिनेटमा सर्किट लागेपछि पुनः बजार ११ः२१ बजे शेयर बजार खुलेको थियो । तर, सो समयमा पनि एक मिनेट कारोबार हुन नपाउँदै शेयर बजारमा दोस्रो पटक सर्किट लाग्यो । बजार पुनः ४० मिनेटका लागि बन्द भएको थियो। जुन समयमा शेयर बजार १०२ अकंले बढेर २१५६ बिन्दुमा पुगेको थियो। अन्तिमसम्म आइपुग्दा शेयर बजार ४७.०४ अकंले बढेर २१००.४३ बिन्दुमा पुगेको थियो । मंगलबार ३१५ कम्पनीको १ करोड १६ लाख १७ हजार ६९० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ७ लाख ९७ हजार रुपैयाँको शेयर कारोबार भएको थियो। त्यसदिन १३ वटै उपसूचकमा हरियाली छाउँदा बैंकिङ्ग समूहको ३.०३ प्रतिशत, विकास बैंक समूहको २.०१ प्रतिशत, फाइनान्स समूहको २.११ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०९ प्रतिशतले शेयर मूल्य बढेको थियो।

बुधबार सामान्य अंकले बढेको शेयर बजार
साताको तेस्रो कारोबारको दिन मंगलबार दुई पटक सर्किट लागेको शेयर बजार बुधबार भने केही खस्किएको थियो । त्यसदिन बजारमा दिनभर उतार–चढाब कायमै रह्यो। एमाले र काँग्रेस मिलेर सरकार बन्ने भएपनि अर्थमन्त्री विष्णु पौडेल बन्ने आशले उत्साहित शेयर बजारमा लगानीकर्ता तत्काल सरकार नबन्ने भएपछि केहि निराश बन्न पुगेका थिए। त्यसदिन नेप्से ३.७९ अकंले बढेर २१०४.२२ बिन्दुमा बन्द भएको थियो । त्यसदिन ३१४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८ करोड ३५ लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको थियो । बुधबार फाइनान्स समूहको ६.०४ प्रतिशत र व्यापार समूहको ६.१२ प्रतिशतले शेयर मूल्यमा सुधार देखिएको थियो। साथै, विकास बैंक समूहको २.७१ प्रतिशत र वाणिज्य बैंक समूहको ०.६३ प्रतिशतले शेयर मूल्य बढेको थियो । बुधबार चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो ।

साताकाे अन्तिम दिन दाेहाेराे अंकले बढ्याे बजार

साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार दोहोरो अकंले बढेको थियो। त्यसदिन नेप्से १५.४६ अकंले बढेर २११९.६९ बिन्दुमा बन्द भएको थियो । बिहीबार ३१३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६७८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार भयाे । त्यसदिन ११ उपसूचकमा हरियाली छाउँदा बैंकिङ्ग समूहको ०.४८ प्रतिशत, विकास बैंक समूहको ३.४३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.७५ प्रतिशतले शेयर मूल्य बढेको थियो। बिहिबार एनआरएन इन्फाइट्रचरको ३० करोड रुपैयाँ, नेपाल फाइनान्सको १७ करोड र महालक्ष्मी विकास बैंकको १७ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

यो साता २१ सय १२ दशमलव २९ को बिन्दुबाट सुरु भएको बजार २० हजार ६८ दशमलव ३१ को बिन्दुमा उक्लेकाे छ । समग्रमा यो साताको शेयर बजारमा ८२दशमलव ६ अंकको वृद्धि आएको छ।