पछिल्लाे समय अनाैपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिने क्रम घटेको छ : डिसीईओ पोखरेल

पछिल्लाे समय अनाैपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिने क्रम घटेको छ : डिसीईओ पोखरेल


काठमाडौं – ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) सुमन पोखरेलले पछिल्लो ४­/५ वर्षयता अनौपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिने क्रम घटेको दाबी गरेका छन्। डिसीईओ पोखरेलले ‘दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्सको २०२४’ को तेस्रो सत्र ‘सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देश’ मा नेपाल राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थाका साथै सरकारको पहलमा अनौपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिने क्रम घट्दै गएको दाबी गरेका हुन्। 

डिसीईओ पोखरेलले पछिल्लो समय ७५ प्रतिशतको हाराहारीमा बैंक तथा वित्तीय संस्थाबाट औपचारिक रूपमा रेमिट्यान्स भित्रिरहेकाे बताए । उनले भने, ‘रेमिट्यान्सको लागतको विषयमा पनि दिगो विकासकाे लक्ष्यमा ३ प्रतिशतभन्दा कम हुनुपर्ने भनिएको छ। त्यसमा पनि हामी पुग्न आटिसकेको छौँ। नेपाल रेमिट्यान्समा कम लागत शुल्क भएको देशमा पनि पर्छ।’ रेमिट्यान्सको लागत शुल्क १/२ प्रतिशतदेखि ३/४ प्रतिशतसम्म रहेको उनले बताए। अहिले समष्टिगत रूपमा ३ प्रतिशतको हाराहारीमा लागतलाई लिन सकिने धारणा राखे। रेमिट्यान्समा लागत घट्नुको मुख्य कारण फिन्टेकहरुको प्रवेश हुनु  र डिजिटल प्लेटफर्महरुले रेमिट्यान्स लागत घटाउन सहयोग गरेको बताए । 

पछिल्लो समय रेमिट्यान्सको आप्रवाहले कुल ग्राहस्थ उत्पादन (जीडिपी) मा  झन्डै २६.८  प्रतिशत रहेको उनले औँल्याए । साथै, कतै न कतै जोडिएर परनिर्भर भएको रेमिट्यान्सलाई दीगो कसरी बनाउने भन्ने विषयमा सोच्न आवश्यक रहेको बताए। उनले लागत कसरी घटाएर लैजाने ? बैंक वित्तीय संस्था उद्यमशीलता, दक्षतामा कसरी जोडेर यसलाई कसरी बढी मूल्यवान् बनाउने भन्ने विषय चुनौतीको विषय रहेको बताए। लागत घटाउने, रेमिट्यान्सलाई अझ सजिलो बनाउने, औपचारिक माध्यमबाट ल्याउनका लागि सजिलो उपाय डिजिटल माध्यमलाई थप प्रभावकारी बनाउनु नै रहेको उनले उल्लेख गरे।  

डिसीईओ पोखरेलले भने, ‘वैदेशिक रोजगारमा जानु अगाडि, रहुन्जेल र फर्किएपछि कहाँ – कहाँ ध्यान दिन सकिन्छ भन्ने कुरा सरकार, सम्बन्धित पक्षले ध्यान दिनुपर्छ। वैदेशिक रोजगारीबाट फर्किइसकेपछि त्यहाँबाट लिएर आएको पुँजी, सीपलाई कसरी प्रयोग गर्ने। उद्यमशीलतासँग कसरी जोड्ने भन्ने कुरामा सबै पक्षले ध्यान दिनुपर्छ।’ पोखरेलले ग्लोबल आइएमई बैंकले रेमिट्यान्सँग जोडिएर वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि देखिनै सहकार्य गर्दै आइरहेको बताए।

डिसीईओ पोखरेलले भने,‘हामीले वैदेशिक रोजगारीमा जाने क्रममा, त्यहाँ रहुन्जेल र सीप र पुँजी लिएर फर्किएपछि व्यवसाय सुरु गर्नलाई पनि सहयोग गर्छाै। साथै, थप सुविधा पनि दिदैँ छौँ।’ डिसीईओ पोखरेलले रेमिट्यान्स र रेमिट्यान्ससँग जोडिएका पक्षहरूलाई उत्पादनमुखी र सुरक्षित बनाउन एउटा बैंकको हिसाबले पर्याप्त प्रयास गरिरहेको बताए । साथै, उनले यसमा सरकार लगायत अन्य सम्बन्धित पक्षकाे ध्यान आवश्यक रहेको औँल्याए । ‘दुःख गरेर कमाएको पैसा सही ठाउँबाट, सही तरिकाले आओस्, प्रतिफल पनि उहाँहरूले नै पाउनुपर्छ भनेर प्रयास गरिरहेका छाैँ’ डिसीईओ पाेखरेलले भने।