काठमाडौं – नेपाल वित्तीय संस्था संघका अध्यक्ष सुनिल पन्तले हाल अर्थतन्त्रका अधिकांश सूचकहरुमा गत वर्षको तुलनामा उल्लेख्य सुधार आएको बताएका छन्। अध्यक्ष पन्तले दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ लाई सम्बोधन गर्दै हाल अर्थतन्त्रका सूचकहरु विदेशी विनिमय सञ्चिति, भुक्तानी सन्तुलन, ब्याजदर, शाेधान्तर स्थिति लगायतमा उल्लेख्य सुधार आएको बताएका हुन्।
अध्यक्ष पन्तले अघिल्लाे आर्थिक वर्षकाे वैशाखमा ७.४१ प्रतिशत रहेकाे उपभाेक्ता मुद्रास्फीति चालु आवकाे वैशाखमा ४. ४० प्रतिशत रहेकाे बताए। पन्तले उपभाेक्ता मुद्रास्फीतिमा सकारात्मक सुधार देखिएकाे बताएका हुन्। त्यस्तै, आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह १९.२० प्रतिशतले वृद्धि भइ ११ सय ९८ अर्ब , ६० खर्ब पुगेको पनि जानकारी दिए। अघिल्लो वर्षको तुलनामा विप्रेषण आप्रवाहमा १३.४० प्रतिशत बिन्दुले वृद्धि भएको देखिन्छ।
अध्यक्ष पन्तले तथ्यांक हेर्दा अर्थतन्त्रका बाह्य सूचक सबल देखिए पनि आन्तरिक सूचकमा केही संकुचन देखिएको बताए। उनले भने,‘चैत मसान्तसम्ममा बैंकिङ्ग क्षेत्रको खराब कर्जा अघिल्लो आर्थिक वर्षको चैत मसान्तको तुलनामा उल्लेख्य वृद्धि भएको देखिन्छ। यसले विगतका दिनहरुमा समयमा भुक्तानी भएका ऋणहरु समेत डिफल्टरमा परिणत हुने क्रम बढेको छ। यस हिसाबले वाणिज्य बैंक, विकास बैंक, फाइनानस कम्पनीहरु सबैको निष्क्रिय कर्जा जोडेर हेर्दा चैत मसान्तसम्ममा लगभग २ खर्ब ३२ अर्ब रहेको देखिन्छ।’
यसका साथै बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ्ग सम्पत्ति पनि २५ अर्बको हाराहारीमा रहेको बताए। यसरी निष्क्रिय कर्जा बढ्ने र बैंक तथा वित्तीय संस्थाहरुले लिलामीको प्रकियालाई द्रुत गतिमा अगाडि बढाउने हो भने घरजग्गा कारोबारमा थप चाप बढ्ने उनकाे भनाइ छ। वित्तीय सारक्षताले आजको गतिशील आर्थिक परिदृश्यमा व्यक्तिको आर्थिक उत्थानमा निर्णयक भूमिका खेल्ने उल्लेख गरे।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप नै संघ संस्थाहरूले वित्तीय सारक्षताको कार्यक्रमहरु गर्दै आएको उनकाे भनाइ छ। डिजिटल बैंकिङ्ग इकोस्टिममा पनि संस्थाहरू नेपाल राष्ट्र बैंकको नीति तथा मार्गदर्शनमा अगाडि बढेको उनले बताए। जसको फलस्वरुप नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा उत्साहजनक प्रगति भएको पनि दावी गरे। अध्यक्ष पन्तले डिस्कोर्सले देशको अर्थतन्त्रलाई सुधार गर्नुका साथै बैंकिङ्ग क्षेत्रका समस्या समाधानमा विशेष भूमिका निवार्ह गर्ने बताए।
प्रतिक्रिया