काठमाडौं – यो साता पनि पुँजी बजारका लागि खास रहन सकेन। अघिल्लो साता बजेटले उत्साह ल्याउन नसकेका पुँजी बजारका लगानीकर्ताहरूको लागि यो साता पनि खास नरहेको हो । यो साताको शेयर कारोबारको पाँच दिन नै शेयर कारोबार भयो । साताको पहिलो कारोबारको दिन दोहोरो अंकले बढेको शेयर बजार साताको अन्तिम दिनसम्म आउँदा उत्साहजनक परिवर्तन भने भएन । यो साता शेयर बजार प्रायः एउटै परिसूचकमा घुमिरहेको देखिन्छ।
साताको शेयर कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ५१ अंकले बढेर २,०८३ को बिन्दुमा कायम भएको थियो। त्यसदिन १७४ कम्पनीको शेयर मूल्य बढेको थियो भने ६१ कम्पनीको शेयर घटेको थियो । त्यसदिन सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको थियो। साताको पहिलो कारोबार दिन १० उपसूचकमा हरियाली आएको इन्भेस्टमेन्ट समूहको ०.२३ प्रतिशत, निर्माण र प्रशोधन समूहको २.४० प्रतिशत माइक्रो फाइनान्स समूहको ०.०५ प्रतिशतले शेयर मूल्य घटेको थियो। आइतबार मल्टीप्रपोज फाइनान्स र मकर जितुमायाको शेयरमा सर्किट लागेको थियो।
साताको पहिलो कारोबारको दिन आइतबार दोहोरो अंकले बढेको शेयर बजारमा सोमबार सामान्य अंकको गिरावट देखियो । सोमबार नेप्से परिसूचक ३ दशमलव ९७ प्रतिशतले घटेर, २,०७९ को विन्दुमा कायम भएको थियो। त्यसदिन १२९ कम्पनीको शेयर मूल्य घटेको थियो । सोमबार ३१६ कम्पनीको ८८ लाख २० हजार १२५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० लाख ७० हजार रुपैयाँको कारोबार भएको थियो। सोमबार १२ उपसूचक राताम्य हुँदा माइक्रो फाइनान्स समूहको शेयर मूल्य बढेको थियो। माइक्रो फाइनान्स समूहको शेयर २.४३ प्रतिशतले बढेको थियो। साथै, त्यसदिन बैंकिङ्ग समूहको ०.७४ प्रतिशत, विकास बैंक समूहको ०.३० प्रतिशत फाइनान्स समूहको शेयर मूल्य घटेको थियो। सोमबार एनआरएन इन्फाइट्राचरको १४ करोड ८५ लाख रुपैयाँ र ग्रिन भिन्चर्सको १२ करोड ४० लाख रुपैयाँको कारोबार भएको थियो।
साताको दोस्रो कारोबारको दिन सोमबार झिनो अंकले घटेको बजारमा मंगलबार भने केही सुधार देखिएको थियो। मंगलबार नेप्से ६.२२ अंकले २०८५.३० बिन्दुमा बन्द भएको थियो। त्यसदिन ३१५ कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४७ लाख १५ हजार रुपैयाँको कारोबार भएको थियो। मंगलबार १० उपसूचक हरियाली थिए। त्यसदिन बैंकिङ्ग समूहको ०.११ प्रतिशत, विकास बैंक समूहको ०.५७ प्रतिशत, फाइनान्स समूहको ०.२९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१० प्रतिशतले शेयर मूल्य बढेको हो। मंगलबार सिइडिबि हाइड्रोपावरको २० करोड ९२ लाख रुपैयाँ नेपाल फाइनान्सका १२ करोड ९८ लाख रुपैयाँ कारोबार भएको थियो।
मंगलबार झिनो अंकले बढेको शेयर बजार बुधबार झिनो अंकले घट्यो। साताको कारोबारको चौथो दिन अर्थात् बुधबार शेयर झिनो अंकले घटेको थियो। मंगलबार नेप्से ५.५८ अंकले घटेर २०७९. ७१ को विन्दुमा कायम भएको थियो। बुधबार कारोबार भएका कम्पनीहरुमध्ये ८३ वटाको शेयर मूल्य बढेको थियो। १५८ वटा कम्पनीको मूल्य घटेको थियो भने ६ वटाका स्थिर रहेका थिए। त्यसदिन भगवती हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो। त्यस्तै, मनकामना स्मार्ट लघुवित्त शेयर मूल्य ९.८३ प्रतिशतले बढ्दै ११९२ रुपैयाँमा कारोबार भएको थियो।
बुधबार झिनो अंकले बढेको शेयर बजार बिहीबार पनि झिनो अंकले घट्यो। साताको अन्तिम कारोबारका दिन पनि शेयर बजारले गति लिन सकेन । पछिल्लो समय शेयर बजारले गति लिन सकेन। बिहीबार नेप्से १.९३ अंकले घटेर २०७७.७८ बिन्दु कायम भएको थियो। बिहीबार २३३ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड ८२ लाख रुपैयाँको कारोबार भएको थियो। बिहीबार दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो। बिहीबार इमर्र्जिङ नेपाल र मिड सोलुको शेयरमा सकारात्मक सर्किट लागेको थियो । बिहीबार आठ उपसूचक राताम्य भएका थिए। त्यसदिन बैंकिङ्ग समूहको ०.६९ प्रतिशत, विकास बैंक समूहको ०.६० प्रतिशत र फाइनान्स समूहको २.०८ प्रतिशतले शेयर मूल्य घटेको थियो।
समग्रमा यो साता शेयर बजारका लगानीकर्ताहरुका लागि खास रहन सकेन। गत साता बजेटले घटाएको लगानीकर्ताको मनोबल यो साता पनि बढ्न सकेन। यो साता २०८३ दशमलव ०४ को बिन्दुबाट सुरु भएको बजार २०७७ दशमलव ७८ को विन्दुमा झरेको छ। कारोबारको अन्तिम दिनसम्म आइपुग्दा यो साता शेयर ६ अंकको हाराहारीमा घटेको छ । अघिल्लो साता ६१ दशमलव ५३ अंकले शेयर बजार घटेको थियो ।
प्रतिक्रिया