काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सामूहिक खेती र उद्योगबाट पार्टीलाई आत्मनिर्भर बनाउने अभियान सुरु गरेको छ । पार्टीले शैक्षिक संस्था, व्यक्तिका बांझो जग्गा लिजमा लिनुका साथै पार्टी नेता कार्यकर्ताकै खेती हुन नसकेका जग्गासहित देशका विभिन्न जिल्लामा करिब ८० स्थानमा चक्लाबन्दी प्रणालीमा सामूहिक खेती र केही उद्योग समेत सञ्चालन गरेर गर्न लागेको हो ।
पार्टीले केन्द्रीय कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा तीन बिघामा खाद्यान्न बाली, अर्घाखांचीको शितगंगागामा डेढसय रोपनीमा गाई र लोकल कुखुरापालन, तरकारी तथा फलफुल खेतीबाट पार्टीले उत्पादनको काम शुरु गरेको हो । पार्टीको केन्द्रीय सदस्य एवं राप्ती ब्युरो इन्चार्ज सविनका अनुसार रोल्पाको घर्तीगाउंमा १५ रोपनीमा आलु र लसुन खेती, दाङको घोराही–१६ गेरुवामा ६ बिघामा सी कृषि फार्ममार्फत आलु र तोरी खेती गरिएको छ । दाङकै बेलझुण्डीमा २५ बिघा जग्गा लिजमा लिएर ५ बिघामा माछा पोखरी बनाएर माछा पालन सहित कृषि उत्पादन गर्ने तयारी छ । यस्तै सल्यानको छत्रेश्वरी गाउंपालिकामा १३ रोपनीमा ३ सय बिरुवा कागती खेती,बर्दियामा धान खेती गरिएको छ ।
पार्टीको केन्द्रीय उत्पादन विभागका नेता सन्देश पौडेलका अनुसार चितवनको माडीमा १५ बिघा जग्गा ९ वर्ष लिजमा लिएर ६ बिघामा पोखरी बनाएर माछा पालन, ५ बिघामा चैते धान र बांकीमा मकै, तोरी, आलु खेती र मौरी पालन भइरहेको छ । एक वर्ष यता पार्टीले आयोजना गर्ने ठूला साना सबै कार्यक्रममा खाना र नास्ताका लागि अधिकांश वस्तु बजारमा किन्नुपर्ने वाध्यता अन्त्य भएको सविनले बताए । यस्तै काठमाडौंमा २ वटा गार्मेन्ट उद्योग, कपिलवस्तुमा सी उद्योगमार्फत सफाई सामग्री हार्पेक लगायतका वस्तु उत्पादन गरिरहेको सन्देशले बताए । काठमाडौं र नुवाकोटको बीचमा पानी उद्योग तथा सुसरीको झुम्कामा आलु चिप्स उत्पादन उद्योग स्थापनाको गृहकार्य गरिरहेको पौडेलले बताए । काठमाडौं सहित प्रमुख शहरमा आफ्ना कृषि उत्पादन विक्रिका लागि मार्ट (ठूला पसल) सञ्चालन गर्ने तयारी भएको पनि उनले जानकारी दिए ।
हालै मात्रै पार्टी महासचिव विप्लवको नेतृत्वमा जुम्ला र कालिकोटमा १५ सय बढी स्याउका बिरुवा रोपिएको सन्देशले बताए । अर्को वर्षसम्म जुम्ला र कालिकोटसहित आसपासका जिल्लामा २२ हजार वर्गमिटर क्षेत्रफलमा १० हजार बोट स्याउ रोप्ने लक्ष्य रहेको उनको भनाइ छ । यस्तै सिलाई कटाई, कपाल काट्ने, पानीपुरी बेच्ने व्यवसायमा पनि पार्टीका ५० जना भन्दा बढी कार्यकर्ता सामूहिक रुपमा लागेको उनले बताए ।
पार्टीको नवौं महाधिवेशनले पारित गरेको कम्युनिष्ट अर्थ दृष्टिकोणको दस्तावेजमा आधारित रहेर आत्मनिर्भर नेता, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देश बनाउने मुख्य उद्देश्य अनुसार कृषिबाट आत्मनिर्भर तथा उद्योगबाट देशलाई समृद्ध बनाउने लक्ष्य अनुसार देशव्यापीरुपमा सामूहिक खाद्यान्न, पशुपालन, तरकारी र फलफुल खेती अभियान चलाएको सविनले बताए ।
‘केही समय यता पार्टी र जनवर्गीय संगठनका कार्यक्रममा हामी आफैले उत्पादन गरेको धानबाट भात,तरकारी, माछा र मासु र मह खान थालेका छौं । कसैसंग चन्दा माग्न परेको छैन बरु जाजरकोट र रुकुमका भूकम्प पीडितलाई पार्टीले उत्पादन गरेको धानको २५ क्वीन्टल चामल बांड्यौं’, सविनले भने, ‘घोक्रो फुल्याई फुल्याई अरुलाई गालिगलौज र भाषणमा समय खर्चने तर श्रम र उत्पादनको काममा भाग नलिने नेताहरुबाट निराश नागरिकहरुमा हाम्रो कृषि उत्पादन अभियानले आशा,विश्वास र भरोशाको सिंचाइ गरेको छ ।’
पार्टी नेतृत्वले कृषि उत्पादनलाई प्राथमिकता दिएर चलाएको अभियानले सांच्चिकै आशा जगाएको र अरु दलले पनि यसरी नै कृषिलाई व्यवहारमै प्राथमिकता दिने हो भने देशलाई आत्मनिर्भर बनाउन र समाजवादको आधार तयार गर्न सकिने सविन बताउंछन् ।
प्रतिक्रिया