बीमा व्यवसाय शुरुवात भएको धेरै दशक भएता पनि लामो समयसम्म बीमा क्षेत्र अझैपनि उत्साहजनक रुपमा अगाडि बढेको पाइदैन । पछिल्लो समय बीमा क्षेत्र प्रभावकारी त बन्दै गएको छ तर पोलीसी पहिचानमा आम मानिसहरु अझै अव्यस्त हुन सकिरहेका छैनन । नेपाल बीमा प्राधिकरणको नीतिगत व्यवस्था सजग र फराकिलो भएसँगै विगत केही वर्षदेखि बीमा बजार विस्तार हुँदै गएको देखिन्छ । बीमा बजार प्रभावकारी हुँदै जाँदा चुनौतीहरू पनि थपिँदै जान्छन । यसका लागि नियमन गर्ने प्रमुख निकाय नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको विकासका लागि आधारभुत काम गर्नुपर्ने देखिन्छ । बीमा प्राधिकरण आफैले विस्तार गरिरहेको बीमा सचेतना कार्यक्रमलाई अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा लागेको आरोप र देखिएको समस्यालाई कसरी हेरिरहेको छ, बीमा दाबी भुक्तानीमा देखिएको समस्यालाई कसरी हेरेको छ, यस्तै विषयमा केन्द्रित भएर बैकिङ्ग समाचारको तर्फबाट नमुना के सीले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसँग गरेको कुराकानीको सम्पादित अंशः
तपाई नेपाल बीमा प्राधिकरणमा आउनु भएको २ वर्ष नाघेको छ । यस दुई वर्षको अवधिमा कस्तो अनुभव गर्नुभयो ?
अनुभव राम्रो भयो । विगतको बीमा क्षेत्र र अहिलेको बीमा क्षेत्रमा धेरै परिवर्तन भैसकेको छ । परिवर्तन सामूहिक पनि हुन्छ । कहिलेकाहीँ राम्रो प्रतिफल लागि बलपूर्वक पनि परिवर्तन गर्नुपर्ने हुन्छ । गलत प्रविधिमा बसेर व्यापार गर्नु भन्दा प्रतिस्पर्धामा बसेर व्यापार गर्दा उचित हुन्छ भन्ने धारणालाई हामीले प्राथमिकतामा राख्यौं, जसले केही कम्पनीलाई परिवर्तन हुन बाध्य पनि बनायो । मर्जरको प्रकृयालाई पनि अधि बढायौं जसले कारोबार गर्न सहजता बनायो । सबै सेवाहरू हामीले सहरबाट दिँदा असहज भएको भान भयो । विवाद हुन्छ भूगोलमा हामी बस्छौं र यहाँसम्म समस्यालाई निराकरण गर्न हामीले ६ वटा प्रदेशमा ६ वटा प्रदेश कार्यलय पनि खोल्यौं । पुर्नबीमाको नाममा ठुलो रकम बाहिर जाने गथ्र्यो, एउटा पुनर्बीमा कम्पनीले सक्ने भएन भनेर अर्को कम्पनी सञ्चालनमा ल्यायौं, नतिजा राम्रो छ । समग्रमा बीमा क्षेत्रको सुधार, दीर्घकालीन रणनीति र दिगो विकासको कामलाई कुशलतापूर्वक अघि बढाइरहेको छौँ । त्यस्तै दाबी भुक्तानी समयसीमा भित्र दिने बनायौं भने बीमा कम्पनीहरुको क्षमता विकासमा पनि फरक भएको छ ।
बीमा दाबी भुक्तानी समयसीमा भित्र दिने बनाए त भन्नु भयो तर सधैँ बीमा दाबी भुक्तानीमै समस्या भएको गुनासो आम जनमानसबाट सुनिन्छ, यो विषयलाई कसरी सम्बोधन गर्दै हुनुहुन्छ ?
म तथ्यांकमा रहेर कुरा गर्छु । निर्जीवन बीमा कम्पनीको कारोबार वर्ष भरिमा ३८ अर्वको हो २३ अर्वको भुक्तानी तिरेको छ । आफूलाई वजारमा स्थापित कम्पनी बनाउने हो भने समयमा दाबी भुक्तानी तिर्नुपर्छ भन्ने सन्देश बीमा कम्पनीलाई दिँदै आएका छौँ । प्राधिकरण यस विषयमा सजग छ महिना–महिनामा दाबी बढेको देखियो भने कम्पनीको प्रमुख कार्यकारी अधिकृत र सञ्चालकसँग प्रश्न गर्ने गरेका छाँै । बीमा कम्पनीहरूले आज पनि कारोबार विश्वसनीय बनाएनन् भने भोलिको दिनमा कठिन हुन्छ । त्यसको कारण प्राधिकरण लागि परेको छ ।
बीमा प्राधिकरणको काम कारवाही हेर्दा, बीमा कम्पनीको विभिन्न कमीकमजोरीलाई हेर्दा प्राधिकरण नियमावलीमा चुकेको जस्तो देखिन्छ नि ?
बीमा उच्च प्राविधिक क्षेत्र हो बैंक जस्तो सजिलो कुरा हैन । प्राधिकरणले बनाएको निर्देशिका बीमा कम्पनीहरुले हुबहु मान्नुपर्ने हो । कहिलेकाहीँ निर्देशिका माने पनि गल्तिहरु भइदिन्छ । हामीले हरेक कुरालाई अपडेट गर्दै अघि बढिरहेका छौँ । व्यापार हो कहिलेकाहीँ प्रतिस्पर्धामा अगाडि आउने दौडमा बदमासी गर्छन तर एक वर्षदेखि त्यसमा पनि कमी आएको छ । वर्षमा ६ देखि ७ पटक प्राधिकरण र बीमा कम्पनीबीच समन्वय हुने गरेको छ । कम्पनीले व्यापार गर्ने हो व्यापारमा हाम्रो हस्तक्षेप छैन तर प्राधिकरणले बनाएको निर्देशिका निभाउनुपर्छ ।
एनएफआरएस १७ लागू हुँदा नेपालको बीमा क्षेत्रप्रतिको अन्तराष्ट्रिय विश्वास कसरी बढ्छ ?
एनएफआरएस १७ लागू गर्न प्रयास गरेका छौँ । यो एकदम पारदर्शी प्रणाली हो । ससांरको कतिपय देशमा लागू भइसकेको छ । नेपालमा पनि लागू गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । यसले सबै सिद्धान्त नछोडी रिपोर्ट बनाउँछ, जसको कारण संसार भरिकै एउटै रिपोर्ट तयार हुन्छ यसले अन्तराष्ट्रिय विश्वास बढ्न मद्दत पुग्छ ।
पछिल्लो समय विधुतीय गाडीको माग बढेसँगै बीमा क्षेत्रमा चुनौति थपिएको हो ? यसका लागि प्राधिकरणले के कस्तो प्रावधान ल्याउँदै छ ?
चुनौति थपिएको त म भन्दिन तर हाम्रो लागि यो विषय नौलो हो हामी प्रयास पनि गरिरहेको छौँ । गाडी भन्ने बित्तिकै बीमा अनिवार्य छ । विद्युतिय गाडीमा जोखिम बढि छ । जसको लागि प्राधिकरणले छलफल अघि बढाएको छ । विद्युतिय गाडिको लागि प्राधिकरणबाट पहल भैरहेको छ ।
बीमाको पहुँच ५० प्रतिशत पुर्याउने लक्ष्य थियो यो प्रभावकारी देखिएन नि ?
विगतको दिनमा भन्दा बीमाप्रति धेरैको ध्यानाकर्षण बढेको छ । बीमा प्राधिकरणले प्रदेश, स्थानीय सरकारसँग समन्वय गरेर विकट ठाउँसम्म पुगेर बीमाको सचेतना फैलाउने काम गरेको छ । बीमा कम्पनीहरूले पनि सही तवरमा वसेर कारोबार गर्न थालिसकेको छन् । जसले गर्दा बीमाप्रति विश्वास बढ्छ । दाबी परेपछि कम्पनीले समयमा भुक्तानी दिने व्यवस्था शुरु गरेका छाँै । जसको कारण विस्तारै पहुँच बढ्दै जान्छ । बिमीतले समयमा आफ्नो पैसा पाउने हो भने विश्वसनीयता आफैँ बढ्छ । डिजिटल कारोबारको कारण पनि बीमा क्षेत्रमा सहभागिता बढ्दै जान्छ ।
बाहिरी देशको बीमा क्षेत्रलाई हेर्ने हो भने सबै क्रियाकलापको बीमा हुन्छ, नेपालमा कहिले सम्म सम्भव छ ?
बीमा गर्ने, गराउने काम बीमा कम्पनीको हो । प्राधिकरणले नियमन मात्र गर्ने हो । जस्तो दातँको बीमा गरिएको छ भने दाबी दिएन भने किन दाबी दिन, ढिलाई किन गरेको भनेर प्रश्न गर्ने काम हाम्रो हो । तर बाहिरी प्रचलन अनुसार हरेक अगंको बीमा गर्ने प्रणाली ल्याउनु आजको आवश्यकता नै हो । आँखा, दाँत तथा हरेक अगंको बीमा गर्न सक्ने पाटोमा हामी पुगिसकेको छैनौ । त्यति धेरै सहज पनि भैसकेको छैनौं । तर हामी डिजिटल कारोवारलाई अगाडि बढाउन सक्दो कोसिस गरिरहेका छाँै । र हाम्रो कोसिसको प्रतिफल पनि राम्रो छ ।
पछिल्लो समयमा बीमा क्षेत्रमा केही सुधार भएको छ, हजुरको बाँकी कार्यकालमा अझै के सुधार देख्न सक्छौँ ? आगामी दिनको लागि योजना के छ ?
सुधार भन्ने कुरा आज गरेर भोलि छोड्ने कुरा पनि हुँदैन । मेरो कार्यकाल सम्म सक्दो बीमाको दायरा बढाउने कोसिसमा छु । धेरै चुनौतीहरू छन् । पछिल्लो समय जलवायु परिवर्तनले जोखिम निवारणमा समस्या दिइरहेको छ । यसको लागि सोचिरहेको छौँ । सबै नागरिकलाई डिजिटल कारोबारमा आकर्षित गर्नु हाम्रो लक्ष्य हो । बीमा सबै भन्दा बढी गरिब वर्गको लागि आवश्यक हो । मेरो कार्यकालमा गरिब वर्गले पनि बीमा गर्न सक्ने वातावरण बनाउनु छ । यिनै सेरोफेरोमा मेरो बाकिँको कार्यकाल बित्छ ।
प्रतिक्रिया