काठमाडाैं – नेपालले अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा व्यवस्थापन सार्वजनिक निजि साझेदारी (पीपीपी) मोडल मार्फत गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको बैठकले विमानस्थल सञ्चालनका लागि पीपीपी मोडलमा लैजाने निर्णय गरेको हो । योसँगै पोखरा, गौतम बुद्धसहित नयाँ बन्ने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र सञ्चालन एउटै प्याकेजमा दिने निर्णय भएको छ ।
सरकारी संयन्त्रबाट सम्भव नहुने निष्कर्षसहित नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिले प्याकेजमै दिनेगरी निर्णय गरेको हो। सार्वजनिक–निजी साझेदारी मोडल (पीपीपी)मा विमानस्थल सञ्चालनका लागि भन्दै प्राधिकरणले सञ्चालक समितिमा प्रस्ताव ल्याएको थियो। प्राधिकरणले निर्णय गरेपछि अर्थ मन्त्रालयको सहमतिमा मन्त्रिपरिषदले नै यसबारे निर्णय गर्ने छ। सरकारले निर्णय गरेपछि विमानस्थलमा निजी व्यवस्थापन आउने छ।
प्रतिस्पर्धी तथा उच्च व्यावसायिक प्रकृतिको सेवा भएकाले पीपीपीमार्फत विमानस्थल व्यवस्थापनमा निजी क्षेत्रलाई भित्र्याउने प्रक्रिया अघि बढाइएको हो। पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर पनि सञ्चालन गर्न समस्या देखिएपछि प्राधिकरणमात्र होइन मन्त्रालयदेखि योजना आयोगसम्मले पनि निजी क्षेत्रसँग साझेदारी गर्नुपर्ने निष्कर्षनिकालेको छ। सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूको साझेदारीमा यसअघि भएका अध्ययनले विमानस्थल व्यवस्थापन सरकारी संयन्त्रबाट नहुने भएकाले निजी व्यवस्थापन ल्याउन सुझाव दिएपनि सरकार पछि हट्दै आएको थियो। तर पछिल्लो समय पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नभएपछि प्राधिकरण निजी साझेदारीका लागि अग्रसर भएको देखिन्छ ।
यसअघि पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि जीटूजी प्रक्रियाबाट जान खोजेपनि सफल भएको थिएन। अब भने प्रतिस्पर्धाबाट जाने तयारी भइरहेको छ। प्राधिकरणले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा एउटै प्याकेजबनाएर भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने गरी प्रक्रिया अगाडि बढाएको हो। नयाँ विमानस्थल सञ्चालन गरेर खर्च धान्नै समस्या पर्ने तथा व्यवस्थापनमाकर्मचारीको लापरबाही झनै बढ्दै गएपछि प्राधिकरणले सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिनेगरी काम अगाडि बढाएको हो।
प्राधिकरणले भारतमा जीएमआरले सञ्चालन गरेको मोडालिटीअनुसारनै नेपालमा पनि जाने तयारी गरेको छ। भारतमा जीएमआर कम्पनीले विमानस्थल सञ्चालन गर्दै आएको छ। संसारभर धेरै स्थानमा अहिले पीपीपी मोडलमा विमानस्थल सञ्चालन हुने गरेको छ। सोहीअनुसार नेपाल सरकारले पनि प्राधिकरणलाई प्रक्रिया अगाडि बढाउन सहमति दिएको थियो। नेपालमा हाल ३० वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । ती वायुसेवाले भैरहवा, काठमाडौं र पोखरालाई १६ मुलुकका ३३ गन्तव्यसँग जोड्दै आएका छन् ।
प्राधिकरणको रजत जयन्तीमा सार्वजनिक तथ्यांकअनुसार सन् २०२३ मा हालसम्मकै सबैभन्दा धेरै यात्रु संख्या आवागमन भएको छ । नोभेम्बर २०२३ सम्म नेपालका तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलमा ४१ लाख ५४ हजार ३ सय ९३ जना यात्रुको आवागमन भएको थियो । यो अघिल्लो वर्षको ११ महिनाको दाँजोमा ४१ प्रतिशतले बढी हो ।आन्तरिकतर्फ पनि झन्डै ३८ प्रतिशतले यात्रु आवागमन वृद्धि भएको जनाइएको छ । गत वर्ष नोभेम्बर २०२२ सम्म ११ महिनामा देशभर ५६ लाख ६८ हजार हवाई यात्रुले यात्रा गरेका थिए । यसवर्षको ११ महिनामा यो संख्या ७७ लाख ९४ हजार पुगेको छ ।
प्रतिक्रिया