बीमा एक व्यक्तीको उत्कृष्ट छनौट कि बाध्यता ?

बीमा एक व्यक्तीको उत्कृष्ट छनौट कि बाध्यता ?


नमुना के.सी, काठमाडौँ ।
नेपालमा बीमा आवश्यकता सँगै अनिवार्य भैसकेको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवंम प्रवक्ता राजु रमण पौडेलले बीमा आवश्यकता र बाध्यता भन्दा पनि बीमा सेवा भएको बताएका छन । बैंकिङ्ग समाचारसँग कुरा गर्दै उनले हरेक प्रकारका जोेखिम सुरक्षण गर्ने, भविष्य अगावै सचेतना गरी त्यसको सुरक्षण गर्ने भएकाले बीमा सेवा रहेको बताएका हुन । त्यसो त आर्थिक वर्ष २०८० र ८१ को बजेटमार्फत सरकारले बीमा क्षेत्रको नियमन तथा सुपरिवेक्षणलाई सुद्रढ र प्रभावका बनाइने र गुणस्तरिय बीमा विस्तार गर्नुका साथै बीमा दाबि प्रक्रियालाई सरलीकरण गरी भुक्तानी प्रणालीमा सहजता  ल्याउने जोड दिएको छ ।
बजेटमा बीमा प्राथमिकता रहेको विषयमा बोल्दै पौडेल भन्छन, ‘सरकारले बजेटमा बीमा  विकास र विस्तारका लागि बीमा क्षेत्रलाई  प्राथमिकतामा राखेर सन्तोषजनक बजेट विनियोजन गरेको छ ।  त्यसलाई कार्यन्वयनमा लगियो भने अत्यन्तै प्रभावकारी हुने देखिन्छ ।’

आजको युगमा बीमा आवश्यक छ भन्ने विषयलाई थप स्पष्ट पार्दै उनले भने, ‘एउटा व्यक्ति सुरक्षित रहन र भविष्यको जोखिमबाट बच्न बीमा चाहिन्छ । उसले आर्जन गरेको सम्पतीदेखि आफ्नै जीवनको समेत सुरक्षा बीमाले गर्ने भएकोले बीमा आवश्यक छ ।’

अझै पनि बीमा व्यवस्थित हुन नसक्नु समग्र मुलुककै विडम्वना रहेको बताउँदै उनले भने, ‘बीमा व्यवस्थित हुन नसकेको भन्दा पनि अहिले बीमा कम्पनीहरुबीच बढिरहेको अस्वस्थ प्रतिस्पर्धा र त्यसलाई कुशल  नियमन र सुपरिवेक्षण गरी बीमा कम्पनीहरुलाई थप व्यवस्थीत गर्नेमा प्राधिकरण लागिरहेको छ । ऐन २०७९ का अनुसार बीमा कम्पनीहरुलाई वित्तिय अनुशासन अबलम्वन गर्ने र गराउनेर्फ प्राघिकरण लागिरहेको छ ।’ पौडेल भन्छन, ‘यद्यपी बीमा सुरक्षित लगानी, बचत गर्ने बानीको विकास, सम्पति जोखिममा पर्दा क्षतिपूर्ती दिने सजिलो माध्यमको रुपमा स्थापित छ । त्यसैले बीमाको महत्व धेरै छ । आजको दिनमा यो आवश्यकता मात्रै नभई बाध्यता नै हो भन्दा फरक नपर्ला । बीमा सबैलाई आवश्यक छ तर विशेषगरी न्युन आय भएका वर्गहरुलाई त झन अत्यावश्यक नै छ ।’
सुरक्षित जीवनको सारथी बन्दै बीमाः यसो भन्छन सर्वसाधरण 

ललितपुरको इमाडोल बस्ने शान्ता थापाले जीवन बीमा गरेको ५ वर्ष भयो र उनले १५ वर्षको जीवन बीमा गरेकी छिन । थापाले उनको मात्र होइन् उनको श्रीमानको पनि जीवन बीमा गरेकी छिन् । जीवन बीमा गरे आफूलाई अफठ्यारो परेको समयमा सहयोग हुने उनी बताउँछिन । एकातिर बीमाले जीवन सुरक्षित बनाउने र अर्कोतर्फ  आफूलाई आवश्यक परेको समयमा सहयोग हुने उनको बुझाई छ।

त्यसो त विगत चार वर्ष देखी नेपाल लाइफ इन्स्योरेन्ससँग आवद्ध भई  काम गरिरहेका उमेश खत्रीले बीमाको महत्व नजिकबाट बुज्न पाएको र अरुलाई पनि बीमाको महत्व बुझाएर बीमाको सेवा चखाउन पाउँदा खुशी भएको बताउँछन । उनी भन्छन् ‘बीमा गराउने क्रममा थोरै जटिलता भएपनि जोखिम पछिको भुक्तानी प्राप्त गर्दा खुशी लाग्छ ।  २०७२ को भुकम्पपछि केहि हद सम्म बीमा गर्ने को सख्या मा राम्रो प्रतिफल आएको र अझै बीमा आवश्यक छ भनि सबैलाई सचेतना गराई रहेको बताउँछन ।

कुमारीपाटी स्थित ओमेगा सेकेन्डरी विद्यालयका शिक्षिका रोमु थापाले पनि सानै उमेरबाट ज्ञान सिकाउनुपर्ने र बिमा बाध्यकारी नभई आफ्नो एउटा उत्कृष्ट छनौट बनाउने भन्ने विषयहरु सिकाउनुपर्ने जिकिर गर्छिन । उनी भन्छिन, ‘बीमा अझैपनि धेरैलाई थाहै छैन । त्यसको मुख्य कारण नै जनचेतनाको अभाव हो । धेरैको सोचमा बीमा भनेको हाम्रो पैसा केहि समयको लागि फस्दै छ निकाल्न पाउदैनौ भन्ने धारणा छ । उनले भनिन ‘बीमा हाम्रो सुरक्षाको लागि हो । बीमा हाम्रो सुरक्षित बचत हो । यसले हाम्रो नैैै भविष्यमा सहयोग गर्छ भन्ने धारणा विकास गर्न सक्यौं भने बीमा सजिलो हुन्छ । जसरी अहिलेको समयमा  शिक्षा आवश्यक छ त्यसरी नै बीमा पनि  आवश्यक छ ।’