यी ४ कारणले कोरोना बीमा भुक्तानीमा ढिलाइ 

 यी ४ कारणले कोरोना बीमा भुक्तानीमा ढिलाइ 


बैंकिङ्ग समाचार ।
कोरोना बीमाको दावी भुक्तानीको लागि बीमा पुलमा पठाइएका मध्ये एक हजारभन्दा बढि फाईल कागजात नपुगेपछि सम्बन्धित कम्पनीमै फर्काइएका छन् ।

विभिन्न निर्जिवन बीमा कम्पनीहरुमार्फत पठाइएका फाइलहरु मध्ये एक हजार १३६ वटा फाइल सम्बन्धित कम्पनीमै फिर्ता पठाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज बक्तव्यमार्फत जनाएका छन् । बीमा समितिले पुल व्यवस्थापक कम्पनी शिखर इन्स्योरेन्सको स्थगलत निरिक्षण पश्चात जारी गरेका बिज्ञप्तिमा सो कुरा उल्लेख छ ।

अर्थमन्त्री विष्णु पौडेलले प्रक्रिया पुरा गरेकालाई ३ दिनभित्र भुक्तानी गर्न निर्देशन दिएका थिए। तर पनि ढिलाई भएपछि समितिले निर्जीवन बीमा कम्पनीहरुको संयूक्त ‘पुल’मा भइरहेको कामबारे स्थलगत अनुगमन गरी ढिलाई हुनुका कारण औंल्याएको हो।

निर्जीवन बीमा कम्पनीहरुले संयूक्त पुलमार्फत कोरोना बीमा कार्यान्वयनमा ल्याएका हुन्। जसको व्यवस्थापन शिखर इन्स्योरेन्सले गरेको छ। 

समितिले विज्ञप्तिमा औंल्याएका समस्याहरुः  

१‍. बीमालेख खरिद गरेका बीमितले दावी भुक्तानीका लागि मापदण्डमा तोकेका सम्पूर्ण कागजातसहित सम्वन्धित बीमा कम्पनीमा निवेदन दिनुपर्ने र सम्वन्धित बीमा कम्पनीले सबै कागजात पुरा भए, नभएको एकीन गरी कागजात पुरा भएका फाइलहरु भुक्तानीका लागि बीमा पुल व्यवस्थापक शिखर इन्स्योरेन्स कम्पनीमा पठाउनुपर्नेमा केही फाइल कागजात पुरा गरेको नदेखिएकाले बीमा समितिले सबै निर्जीवन बीमा कम्पनीमा दावी भुक्तानीका सबै कागजात हेरी रुजु गरेर मात्र पठाउन निर्देशन गरिएको। 

२. कोरोना बीमा मापदण्डअनुसार बीमाको दायित्व बीमा समिति र नेपाल सरकारको समेत हुने भएकाले यसको लेखा परीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुने हुँदा कोरोना बीमा मापदण्डअनुसार कतिपय स्पष्ट नभएका कोरोना परीक्षण रिपोर्ट नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भेरिफिकेसनका लागि पठाउनुपर्ने भएकाले केही समय लाग्न गएको। 

३. बीमाको सर्वमान्य सिद्धान्तअनुसार एउटै दावी विभिन्न बीमा कम्पनीहरुबाट छुट्टाछुट्टै किसिमले भुक्तानी नगर्ने हुँदा कतिपय बीमा दाबीहरु दोहोरो पर्ने भएकाले पनि भेरिफिकेसन गर्न र दोहोरो भुक्तानी नियन्त्रण गर्न केही समय लाग्न गएको। 

४. कोरोना महामारीका कारण सबैभन्दा बढी गत असोज र कात्तिक महिनामा संक्रमण भएको र उक्त समयमा दावी भुक्तानी प्रक्रिया अवरुद्ध हुन पुगेको ब्यहारो सम्पूर्णमा अनुरोध गर्दछौं। उक्त अवधिको दावी भुक्तानीका लागि यो महिनामा सबैभन्दा बढी चाप पर्न गएको र यो चाप कम भएपछि नियमित तवरले भुक्तानी प्रक्रिया संचालन हुने भएकाले केही समयसम्म धैर्य गरिदिनुहुन अनुरोध गर्दछौं।