पुस २८ गतेदेखि रोक्का रहेको सिभिल लघुवित्तको शेयर कारोबार फुकुवा

पुस २८ गतेदेखि रोक्का रहेको सिभिल लघुवित्तको शेयर कारोबार फुकुवा


बैकिङ्ग समाचार ।

पुस २८ गतेदेखि रोक्का रहेको सिभिल लघुवित्तको शेयर कारोबार माघ ५ गते खुला भएको छ ।

उक्त दिन कम्पनीले लाभांश सार्वजनिक गरेको थियो । नेप्सेले सोमवारको सञ्चालक समितिले गरेको निर्णय मंगलवार कारोबार भइरहेको समयमा उपलब्ध गराएको कारण तीनदिनभित्र कारण सहित स्पष्टिकरण बुझाउन माग गर्दै कारोबार रोकेको थियो । 

कम्पनीले नेप्सेलाई सचेत रहँदा रहँदै पनि संस्थाको इन्टरनेटमा खराबी आई प्राविधिक समस्याका कारण सूचना अपलोडमा ढिला भएको स्पष्टिकरण दिएको छ । 
आगामी दिनमा समयमै जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेकाले नेप्सेले कारोबार सुचारु गराएको जानकारी दिएको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था बमोजिम सूचना उपलब्ध नगराएको भन्दै कारोबार रोक्का गरेको थियो । 

उक्त कम्पनीले ३ दशमलव ६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । गत आर्थिक वर्ष ०७६÷७७ को सञ्चित मुनाफाबाट ३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव कम्पनीले गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. २३ करोड ३९ लाख ३३ हजार ७०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले रू. ८१ लाख ८७ हजार ६७९ बराबरको बोनस शेयर र रू. ४ लाख ३० हजार ९३० बराबरको नगद लाभांश वितरण गर्ने प्र्रस्ताव गरेको हो । प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गर्नुपर्नेछ ।