हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौताः दुबै बैंकको शेयर कारोबार रोकियो, ठूलो बैंकको ताज पनि खोसियो

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौताः दुबै बैंकको शेयर कारोबार रोकियो, ठूलो बैंकको ताज पनि खोसियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
निकै लामो समयदेखि मर्जरको चर्चामा रहेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जरमा जानका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । निकै पुराना ती बैंकबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा दुई बैंकका अध्यक्षले हस्ताक्षर गरेका छन् ।

हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । दुबै बैंक मर्जरमा गएकाले शेयर कारोबार रोक्का हुने छ ।

स्वाप रेसियो कति भन्ने टुंगो लागेन

सम्झौतापत्रमा कुन अनुपातमा मर्जर हुन लागेको भन्ने बारेमा भने खुलाइएको छैन् । सम्पत्ति तथा दायित्वको प्रारम्भिक मूल्यांकन (डीडीए)मा हिमालयन बैंकको १०२ र इन्भेष्टमेन्टको १०० हुने भनिएको थियो । पुनः डीडीएबाट शेयर अनुपात कायम गर्ने समझदारी भएपनि अन्तिममा हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच १ बराबर १ को अनुपातमा मर्जर हुने निश्चित जस्तै भएको छ । तर, आज भएको सम्झौतापत्रमा अनुपातका बारेमा खुलाइएको छैन् ।

मर्जर पछि कसलाई कुन पद

मर्जरपछि बन्ने बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे हुने छन् । यसैगरी, प्रमुख कार्यकारी अधिकृतको रुपमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा हुने छन् । नयाँ बन्ने बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे रहने भएका छन् ।

एकै घरानाका बैंक भएकाले मर्जरमा जान दबाब

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक एकै घरानाको भएकाले मर्जरमा जान केन्द्रीय बैंकले दबाब दिँदै आएको थियो । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाण्डेका साला हुन् । हिमालयन बैंकका संस्थापक सञ्चालक हिमालय शम्शेर राणा पाण्डेका ससुरा हुन् ।

सवैभन्दा ठूलो बैंक बन्ने

मर्जरपछि सबै भन्दा ठूलो वासलात भएको बैंक हुने भएको छ । मर्जर भएपछि निक्षेप, कर्जा तथा चुक्ता पूँजीमा सबैभन्दा ठूलो बैंक हुने छ । मर्जरपछि बैंकको चुक्तापुँजी २६ अर्ब ९४ करोड १७८ लाख ७४ हजार रुपैयाँ पुग्ने भएको छ । यो अहिलेसम्मका वाणिज्य बैंकमा सबैभन्दा बढी हो ।

यी दुई बैक मर्जर भएपछि नबिल, ग्लोबल आइएमइ, एनआइसी एशियालगायतका बैंकलाई मर्जरमा जान दबाब पर्ने भएको छ । नबिल बैंकले त युनाइटेड फाइनान्सलाई गाभ्ने निर्णय गरिसकेको छ भने अर्को ठूलो वाणिज्य बैंकसँग मर्जरमा जानका लागि अन्तिम तयारी गरिरहेको छ ।

हिमालयन र इन्भेष्टमेन्ट बैंक गाभिएपछि यसअघि ठूलो बैंकको ताज लगाएका बैंकको ताज खोखिएको छ ।

निक्षेप ३ खर्ब ११ अर्ब र कर्जा २ खर्ब ८७ अर्ब पुग्यो

निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ पुग्नेछ । त्यसैगरी रिजर्भमा १९ अर्ब ७४ करोड पुग्नेछ ।

शाखा सञ्जाल १५२ पुग्ने

हिमालयन बैंकको ६९ वटा शाखा र इन्भेष्टमेन्ट बैंकका ८३ शाखा गरी कुल १५२ वटा शाखा कार्यालय हुनेछन् । जसमा एक दर्जनबढी शाखा कार्यालय एकै स्थानमा हुने भएकाले स्थानान्तरण हुने देखिएको छ । मर्जरपछि बन्ने नयाँ बैंकका कर्मचारीको संख्या २५ सय पुग्नेछ । हिमालयन र इन्भेष्टमेन्ट बैंकले कर्मचारी व्यवस्थापनको लागि स्वेछिक अवकासको योजना एकीकृत कारोबार अगाडि बढाउने भएका छन् ।

बैंकको नाम र सञ्चालक समिति यस्तो हुने छ

बैंकको नाम हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक हुने छ । उक्त ठूलो बैंकको सञ्चालक समितिमा ३, ३ जना रहने भएका छन् । पछि एक जना स्वतन्त्र सञ्चालक नियुक्ति गरी ७ जनाको हुने छ ।

 उत्कृष्ट बैंक बनाउने दुबै बैंकका अध्यक्षको प्रतिवद्धता

दुबै बैंकका अध्यक्षले उत्कृष्ट बैंक बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात संस्थाको पूँजी बृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिबृद्धि हुनका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बैंकका अध्यक्षहरुले जानकारी गराएको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।