‘श्रमिक दिवसले राज्य र रोजगारदातालाई मजदुरको पक्षमा काम गर्ने प्रेरणा मिलोस्’: अध्यक्ष दाहाल


काठमाडौं – राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक दिवसले राज्य र रोजगारदातालाई मजदुरको पक्षमा काम गर्न र श्रमिक वर्गलाई एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मे दिवसले सम्पूर्ण श्रमिकलाई पेसागत हक, हित र अधिकारका लागि संगठित एवम् एकताबद्ध भई अघि बढ्न प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

अध्यक्ष दाहालले नेपाली जनताको ठूलो त्याग, बलिदान र संघर्षको उपलब्धिका रूपमा २०७२ सालमा जारी संघीय गणतान्त्रिक संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको उल्लेख गरे । उनले संविधानको व्यवस्थामा आधारित भएर श्रमिक वर्गको पक्षमा थुप्रै ऐन कानुनहरू बनेका भन्दै ती कानुन र संविधान प्रदत्त हक कार्यान्वयन भए मात्रै श्रमिक दिवस मनाउनुको सार्थकता हुने बताए ।

अध्यक्ष दाहालले कार्यस्थलमा मर्यादित र मजदुरमैत्री वातावरण, समयमा पारिश्रमिक प्रदान गर्नुपर्ने विषयमा राज्यका निकाय गम्भीर बन्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । सामाजिक सुरक्षा, बिमालगायत लोककल्याणकारी सेवाको नीतिगत व्यवस्थाका साथै कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

‘जसरी हिजोका दिनहरूमा समाज परिवर्तन गर्दै जनताको राज्यसत्ता प्राप्त गर्न निरन्तर संघर्ष श्रमिक वर्गले गर्‍यो, जनताको बलबाट प्राप्त ती राजनीतिक परिवर्तन र उपलब्धिलाई बचाउन तथा सुदृढ गर्न श्रमिक वर्ग हमेसा सचेत रहन दिवसले प्रेरणा मिलोस् भनी कामना गर्दछु’, सन्देशमा भनिएको छ ।