डीआईजी कार्कीको शब्द रचनामा ‘दशैं रमाइलो’ बोलको गीत सार्वजनिक (भिडियाेसहित)

डीआईजी कार्कीको शब्द रचनामा ‘दशैं रमाइलो’ बोलको गीत सार्वजनिक (भिडियाेसहित)


काठमाडाैं – बर्खे झरी सकियो, हिउँद पलायो
जताततै सयपत्री फूल मुस्कायो
देशै रमाइलो, भेषै रमाइलो
गावै रमाइलो, दशैँ तिहार आउँदा त
झनै रमाइलो ……

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) दान बहादुर कार्कीको शब्द रचनामा सिर्जित गीतले यो वर्षकाे दशैं तिहार उमंग लिएर भित्रिँदै गरेकाे संकेत गरेकाे छ । आज ‘आरटी इन्टरटेन्टमेन्ट’ युट्युब च्यानलबाट सार्वजनिक भएकाे गीतले नेपालीहरूमा दशैँ तिहारसँग जोडिएर आउने खुसीलाई समेटेकाे छ । संगीतकार दीपक शर्माले संगीत भरेका गीतमा चर्चित गायक राजेश पायल राई, मेलिना राईकाे स्वर रहेको छ ।

गीतमा लोकप्रिय कलाकार दिपाश्री निरौला, प्रीयंका कार्की, सरोज ओली लगायतको अभिनय रहेको छ। गीतको कथा, कोरियोग्राफी, निर्देशन जेरी भण्डारीले गरेका छन्। गीतमा विदेशिएका नेपालीहरु थाकथलो सम्झिएर गाउँ फर्किने, दशैँमा हुने जमघट, मेला पर्व लगायतका भाव प्रस्तुत गरिएको छ ।

गीतमा समेटिएका दशैंँका आर्शिवादका किस्साहरू, दृश्यहरूले भिडियोमा रौनकता थपेका छन् । पछिल्लो समय चाडपर्व लक्षित गीत, भिडियोहरूमा विकृति मिसिएको गुनासो बढिरहँदा यो गीतमा भने मौलिकता, मार्मिकता, ग्रामीण परिवेश, आफ्नोपन र संस्कृतिको झल्को पाइन्छ ।

समयसायिक विषयवस्तुमा शब्द रचना गर्न माहिर कार्कीकाे केही समय अगाडि प्रहरीको पीडा र भावना समावेश भएकाे ‘फूलको वासना सरी’ गीत सार्वजनिक भएकाे थियाे । जनताको सेवा र सुरक्षार्थमा खटिने नेपाल प्रहरीको अव्यक्त भावना, गीतमा प्रहरीका दुःखहरू नागरिकप्रति खटिने चाहना लगायतका भाव समेटिएका थिए। जुन गीत सर्वसाधरणले निकै रूचाएका छन् ।

भिडियो :