काठमाडौं– काठमाडौं महानगरपालिकाले गरेको न्युरोड क्षेत्रमा पार्किङ निषेधको बिरोधमा व्यवसायीहरू दोस्रो दिन पनि आन्दोलित भएका छन् । महानगरपालिकाले मंगलवारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो।
उक्त क्षेत्रका व्यवसायीहरुले महानगरले व्यवसायीहरुसँग समन्वय र पार्किङको विकल्प बिना एकतर्फी रुपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरेका हुन् । व्यवसायीहरु व्यापार व्यवसायको सटर बन्द गरेर सडक आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरुले स्थानीय सामाजिक संघ संस्था, व्यवसायिक संघ संस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर सडक आन्दोलन शुरु गरेका छन् ।
महानगरले सरोकारवालाहरुसँग परामर्श नगरी एकोहोरो रुपमा पार्किङ निषेधको निर्णय गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले बताएका छन्। उनले पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेको र न्युरोडको व्यवसायिक भविष्य संकटमा पर्ने दाबी गरे । संस्थापक अध्यक्ष कटुवालले काठमाडौं महानगरपालिकाले विकल्प नदिई पार्किङ निषेधित गर्नु न्युरोड क्षेत्रका व्यवसायीहरुलाई धरासायी र पलायन गराउनु भएको आरोप लगाएका छन् । उनले न्युरोड क्षेत्रमा पार्किङ निषेध गर्दा व्यवसायीहरु व्यवसायबाट पलायन हुने अवस्था आउने बताए । साथै उनले विकल्प सहितको योजना लिएर महानगरपालिका नआएसम्म व्यवसायीहरुको आन्दोलन जारी रहने पनि बताए।
आन्दोलनरत नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले पनि देशभरको व्यापारिक मुटु न्युरोडमा महानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गर्नु गलत भएको बताएका छन् ।उनले व्यापारीहरुले सामान ओसारपसार गर्न र सामान किन्न आउने ग्राहकहरुलाई के जवाफ दिने भन्ने समस्या भएको पनि गुनासो गरे।
उनले भने,‘काठमाडौं महानगरपालिकाले काठमाडौं क्षेत्रको व्यापारीक मुटु क्षेत्रमा पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ । यसले व्यापारीहरुले सामान ओसारपसार गर्न र सामान किन्न आउने ग्राहकहरुलाई के जवाफ दिने भन्ने समस्या भएको छ । महानगरपालिकाले व्यवस्थित गर्नुपर्छ भन्ने हाम्रो भनाई हो । महानगरपालिकाले सवारी साधन आउने सख्याको हिसावले पार्किङको व्यवस्था गरेर मात्रै पार्किङ निषेधित क्षेत्र घोषणा होस् भन्ने माग हो।’
व्यवसायीहरुले सडक आन्दोेलनमा वैकल्पिक पार्किङको व्यवस्था गर्,महानगरको एकोहोरो निर्णय खारेज गर्, बालेन तेरो पाराले, दुःख पाए साराले,व्यापारीलाई गरिखान दे,महानगरको पाराले दुःख पाए साराले,एकल निर्णय खारेज गर,स्ट्याण्डबाजी बन्द गर्,व्यवसायीहरु एक हौं लगायतका नारा लगाएर महँनगरपालिकाको बिरोध गरेका छन् । (न्युज एजेन्सी नेपाल)






About Us
प्रतिक्रिया