बैंकिङ्ग समाचार, काठमाडौं ।
गत मंगलबार अर्थमन्त्री डा प्रकाशशरण महतले उत्पादन उद्योगको उद्घाटन गरेका छन। व्यापारिक घराना खेतान समूहले थाइल्यान्डको रेडबुल कम्पनीसँग सम्झौता गरी सरस बेभरेज प्रालि नामक उद्योग दर्ता गरेको थियो। आयात बन्द गरिएको साढे ४ वर्षपछि नेपालमा नै उत्पादन शुरु भएको हो । खेतान ग्रुपको २ अर्ब लगानीमा नवलपरासीमा उद्योग स्थापना गरिएको छ।
रेडबुलको ट्रेडमार्क प्रयोग गरी नेपालमै उत्पादन गर्न समूहलाई उद्योग विभागले लाइसेन्स दिएको थियो। खेतान समूहको अंशबण्डासँगै यसको उत्पादन राजेन्द्र खेतानका भाइ प्रेम प्रकाश खेतानले गर्न लागेको हो ।
खेतान समूहका अनुसार सरस बेभरेजको कार्यालय धादिङको धुनिबेसीमा स्थापना भइसकेको छ। त्यसको प्लान्ट भने नवलपरासीमा छ। वार्षिक १० हजार किलोलिटर जुस उत्पादन गर्ने लक्ष्य लिएको उद्योगमा २ अर्ब लगानी गरिएको छ। विदेशी ब्राण्ड नेपालमा उत्पादन गर्दा प्रविधि हस्तान्तरण ऐनअनुसार रोयल्टी वा लाभांश दिनुपर्ने हुन्छ। अहिले खेतान समूहले रोयल्टी बुझाउने निर्णय गरेको छ।
डा. युवराज खतिवडा अर्थमन्त्री रहँदा साढे ४ वर्षअघि सबै प्रकारका इनर्जी ड्रिंक्सलाई नेपालमा आयात प्रतिबन्ध गरेका थिए। जसमा रेडबुल पनि परेको थियो। यसले नेपाली बजारमा निकै लोकप्रिय पेयपदार्थ रेडबुललाई मार परेको थियो। अहिले नेपाली बजारमा रेडबुलजस्तै देखिने इनर्जी ड्रिंक्सहरु बिक्री वितरण भइरहेको छ।



About Us
प्रतिक्रिया