काठमाडौं – सुख दुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका-७ काभ्रेपलाञ्चोकका दिलनारायण तामाङ (४२ वर्ष) र बुद्धिमाया दम्पतीले दुई छोराहरूलाई सिठोपिठो ख्वाएरै भए पनि पढाइरहेका थिए । दश वर्षअघि गाउँबाट काम खोज्दै तामाङ दम्पती लालाबाला च्यापेर ललितपुरको च्यासल आइपुगेका थिए । जसको मुख्य उद्देश्य आफ्ना दुई सन्तानलाई शिक्षादीक्षा दिलाउनु थियो ।
‘जिन्दगी सधैँ एकनास कहाँ हुँदो रहेछ र’, बुद्धिमायाले भदौ २३ गते सम्झँदै भनिन्, ‘त्यही दिन हाम्रो जीवनमा अन्धकार बनेर आयो । त्यसयता केही सोच्नै सकिरहेकी छुइन ।’ दिलनारायण डकर्मीको रूपमा मजदुरी गर्थे । छोराहरू निशान र सोहन कोठा नजिकैको श्री शान्ति विद्याश्रममा पढ्थे । गएको वर्षदेखिमात्रै बुद्धिमायाले थापाथलीस्थित एक कम्पनीको कार्यालयमा सहयोगीको काम पाएकी थिइन् । सानै भए पनि श्रीमतीलाई रोजगारी मिलेपछि दिलनारायणको सपना पनि बिस्तारै फुल्दो थियो ।
गत भदौ २३ गतेका दिन दिलनारायणको कतै मजदुरीमा जानुपर्ने थिएन । काम नभएकाले घरमै थिए। छोरा सोहनको जुत्ता फाटेकाले बिहानै नयाँ किनेर ल्याइदिए । त्यसपछि बुद्धिमायालाई खाना पकाएर टिफिन बट्टामा हालिदिए । श्रीमती टिफिन लिएर अफिस हिँडेसँगै उनले छोराहरूलाई खाना खुवाएर विद्यालय पुर्याए।
बानेश्वरमा जेन जेडले भ्रष्टाचारको विरोध, सुशासन, राजनीतिमा पुस्तान्तरण र निष्क्रिय तुल्याइएको सामाजिक सञ्जाल सञ्चालनको माग राखी विरोध प्रदर्शनी गरिरहेको थियो । आन्दोलनबारे थाहा पाएपछि बुद्धिमायाले फोन गरेर ‘छोराहरूलाई त्यहाँ जान नदिनु है, आफू पनि नजानु’, भनिन ।
छोराहरू स्कुलमै रहेकाले जाने कुरै भएन । बरु उल्टै प्रदर्शनीमा सामेल हुन दिलनारायण नयाँ बानेश्वर पुगे । ठिक त्यही बेला प्रहरी र आन्दोलनकारीबीच झडप भइरहेको थियो । गोली चल्यो । सोही क्रममा दिलनारायणलाई पनि प्रहरीले चलाएको गोली घाँटीमा लाग्यो । जुन गोली उनको कुम हुँदै बाहिरियो । दिलनारायण त्यहीँ ढले ।
एक्कासि मध्यान्ह ३ बजे तिर श्रीमानकै मोबाइलबाट तुरुन्त अस्पताल आउनु भनेर बुद्धिमायालाई फोन आयो। अनि उनी आत्तिँदै अस्पताल पुगिन । त्यहाँ विनोद महर्जन र योगेन्द्र न्यौपानेसँगै उनको पनि शव रहेछ । उनले श्रीमानको शव हेर्न सकिनन् । ‘त्यसपछि म आफैँ बेहोसझैँ भएछु’, उनले भनिन्, ‘मैले जहाँ नजानु भनेको थिएँ, उहाँ त्यहीँ पुग्नुभएछ ।’
मजदुरी गरे पनि दिलनारायण राजनीतिक रूपमा सचेत थिए । ज्ञानबहादुर र चिनीमायाका जेठा छोरा दिलनारायण सानैदेखि आँटिलो थिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को सशस्त्र युद्धमा जनसेनाका रूपमा जनयुद्धमा होमिएका उनी विस्तृत शान्ति सम्झौतापश्चात् वैदेशिक रोजगारीमा ओमान जाएका थिए ।
बुद्धिमाया पनि भैरहवा–सुनौली हुँदै दिल्लीबाट घरेलु कामदारका रूपमा ओमान पुगेकी थिइन् । त्यहीँ भेटघाटका क्रममा बुद्धिमायासँग दिलनारायणको चिनजान भयो । त्यही चिनजान प्रेममा परिणत भयो ।
होची कदकी बुद्धिमाया अग्लो, बलियो र साहसिक युवा दिलनारायणप्रति आकर्षित भइन् । अनि झागिँदै गएको प्रेमसम्बन्धीलाई उनीहरूले बिहेमा परिणत गर्ने निधो गरे । दुवै जना नेपाल फर्किए । काभ्रेका दिलनारायण र सिन्धुपाल्चोककी बुद्धिमायाबीच विवाह भयो । दुई छोरा जन्मिए ।
गाउँको अन्नपातले वर्ष दिन खान लाउन र छोराछोरी पढाउन कठिन भएपछि उनीहरू काठमाडौं सहर पसेका थिए । तर आफूसँगै बालबच्चाको भविष्य खोज्दै सहर छिरेको एक दशकपछि दिलनारायणले देशका लागि ज्यान गुमाए ।
आन्दोलन भनेपछि होमिइहाल्ने स्वभावका तामाङ श्रीमतीले आन्दोलनमा नजानुभन्दा ‘किन डराउने र देशका लागि ज्यान दिनुपर्छ’ भन्ने जवाफ दिन्थे । देशका राजनीतिक गतिविधि समेटिएका समाचार हेर्ने र सुन्ने सहिद तामाङको स्वभावले खरो र देशभक्ति उँचो थियो ।
बुद्धिमाया भक्कानिँदै भन्छिन्, ‘हरेक पलपल उहाँको याद आउँछ । घरायसी कामकाजसँगै खाना पकाउने मात्र होइन, लुगा पनि उहाँले नै धोइदिनुहुन्थ्यो । त्यो दिन पनि लुगा धुनुभएको रहेछ ।’
अब भ्रष्टाचारीलाई कारबाही गर्ने र सुशासन कायम गराउने सन्दर्भमा पुनः यस्तो आन्दोलन गर्न नपरोस् भन्दै उनले भनिन्, ‘देशको भाग्य र भविष्य परिवर्तन होस्, राम्रो होस्, हाम्रा जस्तो दुःख अरूले भोग्न नपरोस् ।’ओमानमा जोडिएको दिलनारायण र बुद्धिमायाको प्रेम बानेश्वरमा चलेको गोलीले सधैँका लागि टुटायो ।
सहिद भएकै दिन नयाँ जुत्ता किनेर ल्याएका दिलनारायणलाई उनका छोरा सोहनले बिर्सने कुरै भएन । ‘राम्रोसँग पढ, डाक्टर हुनुपर्छ’, भनेर बुवाले भनेकाे वाक्य अझै सोहनको कानमा गुन्जिरहेको छ ।
दिलनारायणलाई सम्झँदै दाजु विद्या सागर भन्छन्, ‘च्यासलमा पछिल्लो समय डकर्मीको काम गर्थ्यो, साहसिलो र निडर स्वभाव भएकाले संकटकालमा माओवादी लडाकु भएर युद्ध लडेको थियो ।’
जेनजेड आन्दोलनको बलमा गठित सुशीला कार्की सरकारले दिलनारायणसहित आन्दोलनमा सहादत गरेका ४५ जनालाई सुशासन योद्धा २०८२ घोषित गरेको छ । सहिद घोषणा गरेपछि परिवारलाई दिइने १५ लाख र काजक्रिया बापतको रकम दिलमायाले प्राप्त गरेकी छिन् । उक्त रकम मात्र सहिद परिवारका लागि पर्याप्त होइन । सहिदका सपना पुरा गर्दै दिलनारायणजस्तै सहिद परिवारको भविष्यबारे पनि सरकारले सोच्नुपर्ने छ ।






About Us
प्रतिक्रिया