काठमाडौं – भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छुटाइएको शेयरमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता प्रत्यक्ष प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नं ४ का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अप्रत्यक्ष प्रभावित क्षेत्र अर्थात् सोही गाउँपालिकाको वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का बासिन्दाहरूका लागि बाँडफाँट गरिनेछ।
साथै, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुटाइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा पुस १७ गते हुनेछ भने ढिलोमा माघ २ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन बन्द छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गते हुने कम्पनीले जनाएको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले क्व्होलासोथार गाउँपालिका वडा नं. ४ कार्यालय, क्व्होलासोथार गाउँपालिकाको कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसिशहर शाखा कार्यालय र भुजुङ्ग हाइड्रोपावरको सामाखुसी, काठमाडौँस्थित रजिस्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया