काठमाडौं – लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले केही विदेशी लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहेपनि हात झिक्छौँ नभनेको बताएका छन् ।
नेपालमा लगानी गर्नका लागि लगानीकर्ताहरू उत्साहित रहेको उनले बताए । आइतबार नाफिजको साधारण सभामा बोल्दै सीईओ ज्ञवालीले भने, ‘१७ सय अर्ब बराबरका प्रोजेक्ट पाइपलाइनमा रहेका छन् । केही लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन् । तर, हालसम्म लगानी गर्न चाहेका लगानीकर्ताहरूले हात झिक्छौँ भनेका छैनन् । नेपालमा लगानीको वातावरण राम्रो बन्दै गएकाले अब तीव्र गतिमा काम गर्नका लागि उनीहरू उत्साहित रहेका छन् ।’
अहिले गेमि चेन्जिङ प्रोजेक्टहरू पाइपलाइनका रहेकाले ती प्रोजेक्टहरू फाइनल हुन लागेको समेत उनले जानकारी दिए । लगानीकर्ताहरूले ढुक्क भएर लगानी गर्न उनले आग्रह गरे ।
सीईओ ज्ञवालीले भने, ‘जेनजी आन्दोलनपछि लगानीकर्ताहरूले नेपालको अवस्थामा चासो बढाएका छन् । अब लगानीमा लगानी बढाउनका लागि लगानीकर्ताहरूमा ढुक्क बनाउनु पर्छ । उनीहरू लगानी गर्न ढुक्क भएनन् भने उनीहरूमा लगानी गर्ने कन्फिडेन्स आउँदैन ।’
पछिल्लो समयमा निजी क्षेत्र, लगानीकर्ता र सरकारबिच लगानीको वातावरण बढाउनका लागि बोर्डले काम गरिरहेको समेत उनले जानकारी दिए । यसका लागि अर्थमन्त्रीसहित निजी क्षेत्र र जेनजी आन्दोलनमा प्रत्यक्ष प्रभाव परेकोहरुबारे बसेर छलफल गर्दा हामी उठ्नै पर्छ र यसको विकल्प छैन भन्ने निष्कर्ष निकालिएको उनले बताए ।
लगानीकर्ताहरूले जुन–जुन सर्त राखेर नेपाल आउने तयारी गरेका छन् उनीहरूको लागि सम्झौतामै भोलीका दिनमा परिवर्तन नहुने ढुक्क हुने विश्वास दिलाउने तयारी रहेको छ ।
उनीहरूले जुन टर्म अफ कन्डिसनमा लगानी गरेका छन् त्यो पछि परिवर्तन नहुने गरी सम्झौता गर्ने तयारी रहेको उनले जानकारी दिए ।
निजी क्षेत्रले नेपालका लगानीको वातावरण बनाउनका लागि कानुनी विषय र अप्ठ्यारो पाटाहरूलाई सहज बनाउनु पर्ने माग राखेका उनले बताए ।
उनका अनुसार सरकारले कुन कुन प्रोजेक्ट गर्ने र निजी क्षेत्रले कुन कुन गर्ने भन्नेबारे स्पष्ट पार्नका लागि समिति बनाएर काम गर्नेगरी बोर्ड अगाडी बढेको छ । प्रतिस्पर्धाको फ्रेमवर्कभन्दा बाहिर रहेर कुनै पनि प्रोजेक्ट नदिने अप्रोच बोर्डले अगाडी बढाएको सीईओ ज्ञवालीले जानकारी दिए ।






About Us
प्रतिक्रिया