भावना अवस्थी, काठमाडौँ ।
पछिल्ला महिनामा बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ । जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढेको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।
२०७८/७९ र २०७९/८०को सरेण्डर तथ्यांक तुलना गर्ने हो भने सरेण्डर हुने संख्या र रकम दुबै बढेको छ । गत बर्ष मात्रै १५ जीवन बीमा कम्पनीमा १ लाख ४ हजार ५ सय ६ वटा बीमालेख सरेण्डर भएको छ । जुन १४ अर्ब २७ करोड रुपैयाँ बराबरको हो । अघिल्लो आवको सोही अवधिको तुलनामा सरेण्डर संख्या २७.६६ प्रतिशतले धेरै हो भने सरेण्डर रकम १७.२० प्रतिशतले बढी हो । बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १२ अर्ब १८ करोड ८ लाख रूपैयाँ बराबरका ८१ हजार ८सय ६० बीमालेख सरेण्डर भएका थिए । चालु आर्थिक वर्षमा पनि पोलिसी त्याग्नेको संख्या बढ्दै गएको देखिन्छ ।
किन बढ्दैछ बीमा पोलीसी सरेण्डर ?
बीमालेख सरेण्डर धेरै बढ्नुका कारणहरुमध्ये एक प्रमुख कारण आर्थिक मन्दी नै रहेको बीमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले बताएका छन् । उनले आर्थिक समस्याले गर्दा पोलिसि सरेण्डर गर्ने गरेको पनि बताए । योसँगै अहिले बजारमा देखिएको आर्थिक मन्दीले पनि बीमा सरेण्डर बढ्न थालेको पौडेल बताउँछन । उनी भन्छन, ‘निर्देशिकामा नै पोलीसी खरिद र सरेन्डर गर्न पाउने भनिएकाले कुनै आर्थिक समस्याले पोलिसी बिक्री गर्दा नगर्नु भन्न मिल्दैन । अहिले नयाँ निदेर्शिकामा ३ बर्ष नहुँदासम्म बीमा सरेण्डर गर्न नमिल्ने व्यवस्था छ र अब यो व्यवस्थाले बीमा सरेण्डरको बढ्दो दरमा कमी आउँछ ।’ उनले भने, ‘बजारमा जुन मन्दी छ त्यसले गर्दा पनी मान्छेसँग पैसा छैन,यो पनि सरेण्डर बढ्नुको प्रमुख कारण नै हो ।’ यस्तै बीमित बीमा पोलिसीबारे जानकार नै नभई बीमा गर्दा पनि सरेण्डर दर बढेको उनको भनाई छ ।
यो पनि
‘बीमितहरुलाई बीमा पोलिसीबारे जानकारी नै नहुँदा आफ्नो क्षमता कति हो भन्ने ख्याल नपुर्याइ पोलिसी खरीद गर्ने प्रवृत्ति बढ्दो छ ।’उनले भने । बीमा गर्दा बीमितको आय स्रोत हेरेर मात्रै बीमा गरे सरेन्डर दर कम हुने पनि उनले बताए । यस्तै, प्राधिकरणका निर्देशक सुसिल देव सुवेदीले सरेण्डर बढ्नुको ठुलो कारण आर्थिक मन्दी नै रहेको बताएका छन ।
‘आर्थिक कारणले पनि हो एउटा, सबैभन्दा बढी त मानिसहरुको आर्थिक स्रोत, आम्दानीको स्रोत भएन त्यसको लागि पनि सरेण्डर गराइरहेका छन् । सबैभन्दा ठुलो कारण एउटा यही नै हो । मानिसहरुसँग आम्दानी भएन सरेण्डर गरेर घरखर्च चलाइरहेको अवस्था पनि छ । दोस्रो कुरा कम्पनीका योजनाहरु कमजोर भएको कारणले पनि हो । समयमै भुक्तानी दिन नसक्दा पनि यस्तो सरेण्डर बढिरहेको देखिन्छ’ उनले भने ।
बीमालेख सरेण्डर गर्ने प्रवृत्ति नेपालमा मात्रै नभई संसारभरी नै छ । बीमालेख खरिद गर्नुपूर्व नै आफ्नो आय, आम्दानीलाई मध्यनजर गरेर आफुलाई सुहाउँदो बीमा पोलीसी खरिद गर्दा भने सरेण्डरको समस्या कम हुन जान्छ ।
यो पनि
तीन वर्ष पूरा भएपछि मात्रै बीमालेख सरेण्डर पाइने
ऐनमा बीमितले बीमालेख खरिद गरेको मितिले ३ वर्ष पूरा भएपछि बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ । बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग गर्न पाउने व्यवस्थालाई परिमार्जन गर्दै बीमा प्राधिकरणले सरेण्डरमा नयाँ नियम लागू गरेको छ ।
प्राधिकरणले जीवन बीमालेख सम्बन्धि निर्देशिका २०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था कामय गरेको हो । प्राधिकरणले कायम गरेको नयाँ व्यवस्था बमोजिम बीमितले ३ वर्षसम्म पोलिसी सरेण्डर गर्न नपाउने व्यवस्था गरेको प्राधिकरणका प्रवक्ता पौडेलले बताए ।
यो पनि
बीमा समितिद्धारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिकामा बीमालेख सरेण्डर सम्बन्धी व्यवस्था गरिएको छ । बीमा सुरु गरेको मितिबाट ३ वर्ष पूरा भएपछि बीमालेख सरेण्डर गर्नसक्ने व्यवस्था छ ।
केही तथ्यांक तलमाथि देखिए पनि विगतको २ वर्ष पूरा भएपछि बीमालेख सरेण्डर पाइने व्यवस्थाको तंथ्याक हेर्दा धेरै बढिहालेको अवस्था भने नभएको बीमा विज्ञ भोजराज शर्माले बताएका छन् । उनले बीमितले आर्थिक रुपमा बीमालाई निरन्तरता दिन नसक्दा पनि सरेण्डर बढ्ने गरेको बताएका छन् ।
‘आर्थिक हिसाबले र आफ्नो आम्दानीबाट पोलिसीलाई निरन्तरता दिन नसक्ने व्यक्तिहरुले सरेण्डर गरिरहेका छन् । र अहिले त विगतको २ वर्ष पूरा भएपछि बीमालेख सरेण्डर पाइने व्यवस्थाको तंथ्याक हेर्दा अहिले बीमा सरेण्डर बढेको होइन ।शर्माले सरेण्डर गर्नकै लागि योजनाबद्ध रुपमै पनि बीमा गर्ने प्रवृतिका कारण पनि सरेण्डर भइरहेको बताएका छन् ।
कुन कम्पनीको कति ?
लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सका बीमितिले ठुलो संख्यामा आफ्नो पोलिसी त्याग गरेको तथ्यांकले देखाउँछ । गत बर्षमा लाइफ इन्स्योरेन्सका ३ अर्ब ५१ करोड १८ लाख रुपैयाँका २० हजार १ सय ८० वटा बीमालेख सरेण्डर भएका छन् । त्यस्तै नेपाल लाइफ इन्स्यारेन्स कर्पोरेसनमा ४ अर्ब ७८ करोड ८५ लाख रुपैयाँ बराबरका ३२ हजार १ सय २६ वटा बीमा पोलिसी त्याग भएका छन् । राष्ट्रिय बीमा संस्थानमा १ अर्ब १७ करोड ४२ लाख रुपैयाँ बराबरका १४ हजार ४सय ११ वटा बीमालेख सरेण्डर भएका छन् ।
सबै भन्दा कम पोलिसी सरेण्डर हुनेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा महालक्ष्मी लाइफमा ३ करोड ५७ लाख रुपैयाँ बराबरका ३१२ वटा पोलिसी सरेण्डर भएका हुन् । बीमितहरुले एशियन लाइफबाट ६ हजार ५७९ वटा, नेशनल लाइफबाट ९ हजार ९ वटा, मेट लाइफबाट ४ हजार ४५६ वटा, हिमालयन लाइफबाट ७ हजार ५६७ वटा र सूर्यज्योती लाइफबाट ३ हजार ६६६ वटा बीमालेख त्याग गरेका छन् ।
यो पनि
यस्तै, आइएमई लाइफबाट १ हजार ७१ वटा पोलिसी त्याग भएका छन् । सन नेपाल लाइफका ४ करोड ८९ लाख रुपैयाँ बराबरका ४ सय ४२ वटा, रिलायबल नेपाल लाइफका ७ करोड ८८ लाख रुपैयाँ बराबरका १ हजार ५ सय ८ वटा पोलिसी त्याग भएको प्राधिकरणको तथ्यांक छ ।
यस्तै, सिटिजन लाइफमा ११ करोड ८४ लाख रुपैयाँ बराबरका १ हजार २ सय ९५ वटा, सानिमा रिलायन्स लाइफमा ९३ करोड २१ लाख रुपैयाँ बराबरका ७ हजार ५ सय ६८ वटा र प्रभु लाइफमा १५ करोड ७३ लाख रुपैयाँ बराबरका ६ सय ५९ वटा बीमालेख त्याग भएका छन् ।
निश्चित अवधिका लागि खरिद गरिएको पोलिसी विभिन्न कारणले बीचमै रोकिएमा त्यसलाई बीमा पोलिसी सरेण्डर गरिएको मानिन्छ । अर्थतन्त्रमा आएको सुस्तताका कारण बिमितले पोलिसी सरेण्डर गर्ने गरेको देखिन्छ ।
बजारमा सुस्तता आएको समयमा बीमा पोलिसी त्याग गरेरै भए पनि पैसा चलाउनका लागि बिमीतहरूले चाहना राख्ने गरेको जीवन बिमक संघका अध्यक्ष पोषकराज पौडेल बताएका छन् । ‘अहिले बजारमा सुस्तता आएको छ, मूल्य वृद्धि पनि बढ्दो छ । मानिसहरूको आम्दानीको तुलनामा खर्च बढेको छ यसले र योसँगै आर्थिक मन्दीभन्दा पनि केही अभिकर्ताहरूको बदमासीको कारण ग्राहकहरूले यसरी बीचमै बीमालेख सरेण्डर गरिरहेका हुन्छन् । ‘आफ्नो फाईदाका लागि बीमा पोलिसी बिकाउने बीमक प्रतिनिधिहरुले बढिको बीमा गराउँदा बढी कमिसन आउँछ भन्ने सोचाइका कारण बीमा सरेन्डरका मुद्दाहरु बढ्दै गइरहेका छन’ उनले भने ।
यो पनि
प्रतिक्रिया