बजार खुल्यो, तर कारोबार हुन सकेन, किन ?
July 24, 2016

काठमाडौ । आइतबार शेयर बजार खुलेको लामो समयसम्म कारोबार हुन सकेको छैन । बरु उल्टै सबै शेयर दलाल व्यवशायीहरु ललितपुरको जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण केन्द्रमा रहेको धितोपत्रबोर्डको कार्यालयमा पुगेका छन् । शेयर कारोबारमा लाग्दै आएको कमिशन शुल्क आइतबादेखि लागु हुने तथा बोर्डले मण्डला प्रणालीको व्याक अफिस कार्यान्वायनमा ल्याउन पर्ने व्यवस्थालाई अनिवार्य गरे पछि दलाल व्यवशायी बोर्ड पुगेका हुन् ।

स्टक ब्रोकर नम्बर ५७ का महाप्रबन्धक गुणनिधी भुषालका अनुसार अहिले बोर्डमा आधारभुत विषय तथा मापदण्ड निर्धारण नगरी एकाएक मण्डला प्रणाली लागु हुन नसक्ने विषयमा छलफल भैरहेको छ । उनका अनुसार दलाली शुल्कमा आएको कटौती सहित बजारमा तत्काल सुधार गर्न आवश्यक अन्य विषयलाई एकै पटक व्यवहारमा ल्याउने गरि नयाँ प्रणालीको प्रयोग गर्ने व्यवस्था गर्न दलाल व्यवशायीले बोर्डसंग माग गरेका छन् । तर छोटो समयमा निर्देशन पालना गर्न नसकिने भन्दै आफुहरुलाई समय दिन पनि उनीहरुले माग गरेको बताइएको छ ।

‘निर्देशन पाएको केही बेरमा नै बजारमा प्रयोग भैरहेको प्रणाली परिवर्तन गर्न नसकिने भएकाले हामी बोर्डमा आएका हौं, कसरी समस्याको निकास निस्कन्छ भन्नेमा छलफल चलिरहेको छ ।’ भुषालले मेरोलगानीसंगको कुराकानीमा भने ।

आइतबार नेप्सेमा कारोबार खुले पनि सबै दलाल व्यवशायी बोर्डतिर लागे पछि कारोबार हुन सकेको छैन । नेप्सेको वेबसाइटमा गत बिहीबार भएको कारोबारको विबरण मात्र देखिन्छ भने एकाध कम्पनीका शेयर किन्न तथा बेच्न बसेको देखिए पनि कारोबार भएको देखिएको छैन ।

मण्डला प्रणाली तथा कमिशन दरलाई पुर्ण रुपमा कार्यान्वायनमा ल्याउन १५ दिनको माग गरेको व्यवशायीलाई नेप्सेले आइतबारदेखि नयाँ कामिशन दर लागु गर्न निर्देशन दिएको थियो । उता धितोपत्र बोर्डले पनि २ दर्जन बढी शेयर दलाल व्यवशायी तथा मर्चेण्ट बैंकरले प्रयोग गर्ने प्रणाली तथा व्याक अफिसका सन्दर्भमा चासो देखाउँदै तत्काल सुधार गर्न शुक्रबार निर्देशन दिएको थियो ।

बोर्डमा चलिरहेको छलफफलमा दलाल व्यवशायीले तत्काल केही परिवर्तन गर्न नसक्ने अडान राखेर बसे पछि आइतबार बजार खुले पनि शेयर कारोबार नहुने सम्भावना देखिएको छ । बजार नखुलेका सन्दर्भमा नेप्से र धितोपत्र बोर्डका पदाधिकारीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन । -मेरो लगानी बाट

update news