आइतवार ६३ दशमलव ३८ अंक बढ्यो शेयर बजार, करीब ६ अर्बको कारोबार

आइतवार ६३ दशमलव ३८ अंक बढ्यो शेयर बजार, करीब ६ अर्बको कारोबार


बैकिङ्ग समाचार ।

साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक २ दशमलव ५६ प्रतिशत बढेर २ हजार ५०० विन्दु माथि पुगेको छ । यो दिन परिसूचक ६३ दशमलव ३८ अंक बढेर २ हजार ५३६ दशमलव ४६ विन्दुमा पुगेर बन्द भएको हो । 

अघिल्लो कारोबार दिन बिहीवार १ दशमलव ७७ प्रतिशत अर्थात् ४२ दशमलव ४२ अंक बढेर २ हजार ४७५ दशमलव शून्य ९ विन्दुमा पुगेर बन्द भएको बजार आइतवार २ हजार ४९४ दशमलव ४८ विन्दुदेखि खुला भएको हो । उता, सेन्सेटिभ इन्डेक्स भने यस दिन २ दशमलव १३ प्रतिशत बढेर ४५३ दशमलव ५९ विन्दुमा पुगेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स ९ दशमलव ४४ अंक बढेको हो ।

गत साताको तेस्रो कारोबार दिन मंगलवारदेखि उकालो लागेको बजारले यो साताको पहिलो दिन पनि निरन्तरता पाएको छ । यस दिन कारोबार रकम पनि बढेको छ ।

गत बिहीवार रू. ४ अर्ब ६४ करोड ३३ लाख ७३ हजार बराबरको १ करोड ११ लाख ३० हजार १९६ कित्ता शेयर कारोबार भएको थियो । आइतवार भने रू. ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार बराबरको १ करोड २४ लाख ३० हजार २ कित्ता शेयर कारोबार भएको हो । यो कारोबार २०६ ओटा कम्पनीको ८० हजार ९८६ पटकको व्यापारमा भएको हो । 

यस दिन कुल कारोबार रकममा नेपाल बङ्गलादेश बैंकको सर्वाधिक हिस्सा रहेको छ । नबिल बैंकले प्राप्ति गर्ने हल्लाचलेसँगै देखिएको उक्त कम्पनीको शेयरप्रतिको उत्साह यो दिन पनि कायमै रहेको छ । नबिल बैंकले भने प्राप्तिको सम्बन्धमा कुनै पनि आधिकारिक निर्णय सार्वजनिक गरेको छैन ।

लगानीकर्ताहरु हल्लाकै पछि लागेर शेयर खरीद गरिरहेको जानकार लगानीकर्ताहरु बताउँछन् । कतिपय लगानीकर्ताहरुले नबिल बैंकसँग जोडेर बाठा लगानीकर्ताहरुले महङ्गोमा शेयर विक्री गर्ने वातावरण बनाइरहेको आरोपसमेत लगाएका छन् ।

आइतवार नेपाल बङ्गलादेश बैंकको रू. ३९ करोड ९० लाख २२ हजार बराबरको शेयर कारोबार भएको हो । यस दिन बैंकको शेयरमूल्य पनि प्रतिकित्ता रू. ६ ले बढेर अन्तिम मूल्य रू. ३५५ कायम भएको छ । 

यस दिन कारोबारमा आएका १३ ओटै समूहको परिसूचक बढेकोमा सर्वाधिक होटल्स तथा पर्यटन समूहको ५ दशमलव ३६ प्रतिशतले बढेको छ ।

त्यस्तै लघुवित्तको ५ दशमलव ७ प्रतिशत, निर्जीवन बीमा समूहको ४ दशमलव ५९ प्रतिशत, जीवन बीमाको ४ दशमलव ४४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव १३ प्रतिशत, अन्यको २ दशमलव ९८ प्रतिशत, विकास बैंकको १ दशमलव ८५ प्रतिशत, बैंकिङको १ दशमलव ५१ प्रतिशत, लगानीको १ दशमलव २९ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव २३ प्रतिशत, जलविद्युतको शून्य दशमलव ६५ प्रतिशत, वित्तको शून्य दशमलव ५६ प्रतिशत र व्यापारिकको शून्य दशमलव ३६ प्रतिशत परिसूचक बढेको छ ।

उच्च अंकले बढेको बजारमा १० ओटा कम्पनीको शेयरमूल्य पनि उच्च दरमा बढेको छ । यो दिन स्वरोजगार लघुवित्त, मिथिला लघुवित्त र सूर्योदय लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै सामूदायिक लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९९ प्रतिशत, समीट लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, चन्द्रागिरी हिल्सको ९ दशमलव ९८ प्रतिशत, किसान लघुवित्तको ९ दशमलव ९७ प्रतिशत,स्वाभिमान लघुवित्तको ९ दशमलव ९६ प्रतिशत, युनाइटेड इदी मर्दीको ९ दशमलव ७९ प्रतिशत र सबैको लघुवित्त वित्तीय संस्थाको ९ दशमलव १८ प्रतिशतले शेयरमूल्य बढेको हो ।

उच्च अंकले बढेको बजारमा ग्रीन लाइफ हाइड्रोपावर लिमिटेड र खानीखोला हाइड्रोपावरको शेयरमूल्य भने ६ प्रतिशतभन्दा बढीले घटेको छ । ग्रीनलाइफ हाइड्रोपावरको ६ दशमलव शून्य ६ प्रतिशतले घटेर अन्तिम मूल्य रू. ३७२ र खानीखोला हाइड्रोपावरको ६ दशमलव शून्य २ प्रतिशत घटेर अन्तिम मूल्य रू. १२५ कायम भएको हो ।