नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा. निलम ढुंगाना र बमबहादुर मिश्र

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा. निलम ढुंगाना र बमबहादुर मिश्र


बैकिङ्ग समाचार ।
नेपाल राष्ट्र बैंकको नयाँ डेपुटी गभर्नरमा डा. निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त भएका छन् । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगाना र मिश्रलाई आगामी ५ वर्षका लागि डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।

डा. ढुंगाना सार्वजनिक ऋण व्यवस्थापन विभागको प्रमुख कार्यकारी निर्देशकमा कार्यरत थिइन् भने मिश्र विदेशी विनियम व्यवस्थापन विभागको कार्यकारी निर्देशकमा कार्यरत थिए । मन्त्रिपरिषद्को मंगलवार बेलुकी ५ बजेदेखि ८ बजेसम्म बसेको बैठक नियमित एजेन्डासँगै राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर नियुक्तिको विषयमा केन्द्रित थियो ।

नेपाल राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर बनेकी डा. ढुंगाना २०५४ मङ्सिर २२ मा आरक्षण व्यवस्था नहुँदा खुला प्रतिस्पर्धामार्फत सहायक निर्देशकबाट राष्ट्र बैंक प्रवेश गरेकी थिइन् । ढुंगाना खुला प्रतिस्पर्धाबाटै ४९ जना सहायक अधिकृतमध्ये नाम निकाल्न सफल भएकी थिइन् ।

ढुंगानाले हालसम्म राष्ट्र बैंकअन्तर्गतका विदेशी विनिमय विभाग, विराटनगर कार्यालय, बैंक सुपरिवेक्षण विभाग, अनुसन्धान विभागलगायत करीब आधा दर्जन विभागमा काम गरिसकेकी छन् ।

३ वर्षदेखि कार्यकारी निर्देशकको पद सम्हाल्दै आएकी डा. ढुंगानाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अस्ट्रेलियाबाट अर्थशास्त्रमा एमए र भारतबाट व्यवस्थापनमा पीएचडीको शैक्षिक योग्यता प्राप्त गरेकी छन् ।

अर्का नवनियुक्त डेपुटी गभर्नर मिश्र ८ वर्ष वाणिज्य बैंकमा काम गरेपछि २०५९ साल साउन २७ गते शाखा अधिकृतबाट राष्ट्र बैंकमा प्रवेश गरेका थिए । राष्ट्र बैंकमा छिटो पदोन्नति हुनेमा मिश्र पनि एक हुन् ।

उनले २०६५ मा अधिकृत तह र २०७१ मा निर्देशक हुँदै २०७६ सालमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए । मिश्रले त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी, एमबीए, एलएलबी र जापानबाट अर्थशास्त्रमा एमफिललगायतको शैक्षिक योग्यता प्राप्त गरेका छन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नर महाप्रसाद अधिकारीले दुई जना डेपुटी गभर्नर नियुक्त गर्न चार जना सम्भावित उम्मेदवारको नाम अर्थ मन्त्रालय पठाएका थिए ।         

राष्ट्र बैंकमा कार्यरत १७ जना कार्यकारी निर्देशक डेपुटी गभर्नरका लागि योग्य भए पनि गभर्नरले चार जनालाई मात्र सिफारिश गरेर पठाउनुपर्ने कानूनी व्यवस्था छ ।

ऐनमा भएको व्यवस्थाअनुसार गभर्नरले डेपुटी गभर्नर पदमा नियुिक्तका लागि सिफारिश गर्दा बैंकका विशिष्ट श्रेणीको अधिकृतमध्येबाट कार्यक्षमताका आधारमा रिक्त पदको दोब्बर संख्यामा नामावली सिफारिश गरिएको राष्ट्र बैंक स्रोतले बतायो ।

डेपुटी गभर्नरमा नियुक्त भएको व्यक्ति बैंकको सेवाबाट स्वतः निवृत्त भएको मानिने ऐनमा उल्लेख छ ।

गभर्नरको सिफारिशका आधारमा अर्थ मन्त्रालयले मंगलवार बसेको मन्त्रिपरिषद्मा डेपुटी गभर्नरको उक्त नामावली प्रस्तुत गरेको थियो । गभर्नरले सिफारिश गरेका नामलाई अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद् बैठकमा निर्णयका लागि पेश गरेका थिए । यसअघिका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र शिवराजले श्रेष्ठ फागुन १८ गते ५ वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएसँगै उक्त पद रिक्त थियो ।