हिमालयन बैंकको नाफामा उच्च गिरावट, ६२.५० प्रतिशतले घट्यो नाफा

हिमालयन बैंकको नाफामा उच्च गिरावट, ६२.५० प्रतिशतले घट्यो नाफा


बैकिङ्ग समाचार ।

हिमालयन बैंकको नाफामा उच्च गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको पुस महिनासम्म ६५ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा ६२.५० प्रतिशत कम हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा १ अर्ब ७४ करोड नाफा कमाएको थियो ।

पुस मसान्तमा बैंकले १ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो वर्षको तुलनामा क्रमशः ४ अर्ब र ८ अर्ब रुपैंयाँले बढी हो । 

हिमालयनले यो अवधिमा १ अर्ब ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो वर्ष सो बैंकको ब्याज आम्दानी र ब्याज खर्च दुवै घटेको भए पनि खर्च भन्दा आम्दानी धेरै घट्दा खुद ब्याज आम्दानीमा गिरावट आएको हो ।  

यो अवधिमा बैंकको कर्मचारी खर्च घटेको छ भने अन्य सञ्चालन खर्च स्थिर छ । बैंकले कर्मचारी खर्चमा ७४ करोड ५९ लाख  र अन्य सञ्चालन खर्चमा ४० करोड रुपैयाँ खर्च गरेको छ । 

हाल १० अर्ब ६८ करोड चुक्ता पुँजी भएको बैंकसँग १ अर्ब १ करोड रुपैयाँको नबाँडिएको नाफा र ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको जगेडा कोष छ । सो बैंकको जगेडा कोषमा २६ करोडले बढेको छ । यो अवधिमा बैंकले इम्पेरिमेन्ट चार्जबापत १४ करोड ७१ लाख रुपैंयाँ छुट्याएको छ । 

बैंकको पुँजीकोष अनुपात १३.८४ प्रतिशत रहेको छ । निष्क्रिय कर्जा अनुपात २.१३ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा बढेको कारण बैंकको इम्पेरिमेन्ट नकारात्मक देखिएको हो । व्याज तथा गैरब्याज आम्दानीमा आएको उच्च गिरावट पनि नाफा घट्नुको प्रमुख कारणको रुपमा रहेको छ । 

बैंकको पुँजीकोषको लागत ४.६४ प्रतिशत रहँदा सीसीडी अनुपात ७१.१७ प्रतिशत रहेको छ । बैंकको आधारदर ६.८३ प्रतिशत र ब्याजको स्प्रेडदर ३.७६ प्रतिशत रहेको छ ।