गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण

गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण


बैकिङ्ग समाचार ।

देशको गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन् । सहकारीको भूमिकाकै कारण ग्रामीण तथा दुर्गम भेगमा गरिब जनताको जीवनस्तर विकास भएको र यसबाट गरिबी निवारणमा सघाउ पुगेको उनीहरुको दावी छ ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को १०औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले देशमा गरिबी निवारण गर्न सहकारीले मुख्य भूमिका खेलेको दावी गरे । “देशमा गरिबी निवारण गर्नका लागि सहकारीको भूमिका महत्वपूर्ण छ” उनले भने, “जहाँ सहकारीको उपस्थिति बाक्लो छ, त्यहाँ गरिबी पनि कम छ ।” सहकारीले गरिबी निवारणमा खेलेको भूमिकाबारे महासंघले समेत अध्ययन गर्न लागेको उनले जानकारी दिए ।
जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सहकारी र सञ्चार क्षेत्रको विकासका लागि सहकार्यमा कुनै कसर बाँकी नराख्ने बताए ।
नेपाल सहकारी पत्रकार समाजले १० औं वार्षिक साधारणसभाको अवसरमा रातोपाटी डटकममा कार्यरत प्रयास श्रेष्ठलाई पुरस्कृत गरेको छ । यसैगरी त्यस्तै साधारणसभाको अवसरमा संस्थापक सचिव सीताराम विलासीलाई ‘सिजेएन संस्थापक सम्मान’ गरिएको छ ।
यसैगरी साधारणसभाका अवसरमा सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार तथा हित कोष स्थापना गरेको छ । कोषमार्फत आगामी दिनमा सहकारी क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकारलाई पुरस्कार प्रदान गर्नुका साथै सदस्यको हितका लागि पनि कार्य गर्ने संघले जनाउको छ ।