सातामा ३० अर्बभन्दा बढीको कारोबार, कुल बजार पूँजीकरण २७ खर्बमाथि

सातामा ३० अर्बभन्दा बढीको कारोबार, कुल बजार पूँजीकरण २७ खर्बमाथि


बैकिङ्ग समाचार ।

यो साताको पाँच कारोबार दिनमा रू। ३० खर्ब ८ करोड ७५ लाख १९ हजार बराबरको  ५ करोड ६३ लाख ६६ हजार ४८० कित्ता शेयर कारोबार भएको छ । गत साताको भन्दा यो साता कारोबार रकम रू। १५ करोड ९८ लाख ९७ हजारले बढी भएको छ । 

गत साता रू। २८ अर्ब ४८ करोड ८५ लाख ४३ हजार बराबरको ६ करोड ६ लाख ८३ हजार २७ कित्ता शेयर कारोबार भएको थियो । कारोबार रकम बढेपनि यो साता कारोबार कित्ता भने ४३ लाख १६ हजार ५४७ कित्ता कम भएको छ ।

साताको अन्तिम कारोबार दिन पुस २ गते बिहीवारसम्म शेयर बजारको आकार रू। २७ खर्ब ३२ अर्ब २६ करोड ८० लाख पुगेको छ । कुल बजार पूँजीकरण यो साता करीब १ खर्बले वृद्धि भएको छ । यो साता लगानीकर्ताहरुको सम्पत्तिको मूल्य गत साताभन्दा रू। ९९ अर्ब १८ करोड ६० लाखले बढेको हो । गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण रू। २६ खर्ब ३३ खर्ब ८ करोड २० लाख थियो ।

शेयर कारोबार मापक नेप्से परिसूचक ६८ दशमलव ४९ अंकले बढेकाले कुल बजार पूँजीकरण बढेको हो । गत सातको अन्तिम कारोबार दिन मंसिर २५ गते १ हजार ९६४ दशमलव शून्य २ विन्दुमा रहेको बजार यो साताको अन्तिम कारोबार दिन २ हजार ३२ दशमलव ५१ विन्दुमा पुगेको हो । गत साता नेपाल राष्ट्र बैंकले गरेको त्रैमासिक समीक्षामा शेयर धितोकर्जाको सम्बन्धमा आएको अस्पष्ट व्यवस्थाका कारण लगानीकर्ता अन्योलमा पर्दा बजार पनि प्रभावित बनेको थियो । 

गत साता हालसम्मकै उच्च १२३ दशमलव ३४ अंकले बजार पहिलो दिनमै घटेको थियो । राष्ट्र बैंकले मार्जिन कर्जाको सीमाको विषमा यो साता भने केहि नयाँ व्यवस्था गरेको छ । जसका कारण कतिपय कम्पनीको शेयर कारोबार प्रभावित बने ।

राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाका कारण कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरुको शेयरको धितोमा कर्जा प्रदान गर्न नपाईने भएको छ । यसको प्रत्यक्ष असर नेपाल पुनर्बीमा कम्पनी लगायत धितोपत्र बजारमा सूचीकृत दर्जनभन्दा बढी कम्पनीमा पर्ने देखिन्छ । 

यो साता तीन दिन बजार घटेको छ भने दुई दिन बढेको छ । साताको पहिलो दिन ४६ दशमलव ४३ अंक र दोसो दिन ५६ दशमलव ७२ अंकले बजार बढेको हो भने तेस्रो दिन ५ दशमलव ७५ अंक, चौथो दिन ६ दशमलव २० अंक र पाँचौ दिन २२ दशमलव ७० अंकले बजार घटेको हो । 

यो साता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ९२ अंकले माथी उक्लिएको छ । गत साता ३७४ दशमलव शून्य २ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ३८५ दशमलव ९४ विन्दुमा पुगेको हो ।

नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक रकमको कारोबार 
यो साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यस कम्पनीको रू। २ अर्ब ८१ करोड १० लाख बराबरको शेयर कारोबार भएको हो । हाल कम्पनीहरुले लाभांश प्रस्ताव गर्ने क्रम चलिरहेकाले नेपाल लाइफले पनि आकर्षक लाभांश प्रस्ताव गर्ने अपेक्षामा लगानीकर्ताहरु रहेको देखिन्छ ।

गत साताको अन्तिम दिन प्रतिकित्ता रू। १ हजार ९०० रहेको यस कम्पनीको शेयरमूल्य यो साताको अन्तिम कारोबार दिन प्रतिकित्ता रू। २ हजार १९५ पुगेको छ । यो साता कम्पनीको शेयरमूल्य रू।२९५ ले वृद्धि भएको हो ।

सर्वाधिक कुल बजारपूँजीकरण रहेको नेपाल दूरसञ्चारको शेयरमूल्य यो साता घट्यो 
कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडकै कायम रहेको छ । यस कम्पनीको कुल शेयरको मूल्य रू। १ खर्ब ७२ अर्ब ५० करोड पुगेको छ । यो रकम गत साताको अन्तिम कारोबार दिन रू। १ खर्ब ७७ अर्ब रहेको थियो । 

यो साता कम्पनीको शेयरको कुल मूल्य रू। ४ अर्ब ५० करोडले कम भएको छ । १५ करोड कित्ता शेयर सूचीकृत रहेको यस कम्पनीको शेयरमूल्य बिहीवार रू। १ हजार १५० कायम भएको छ । यो मूल्य गत बिहीवार रू। १ हजार १८० थियो ।