विकासको प्रमुख आधार पर्यटन,  हाम्रो प्राथमिकता पनि पर्यटन
June 2, 2016

महेश ढकाल
प्रमुख कार्यकारी अधिकृत,

टुरिजम् डेभलपमेन्ट बैंक
देश विकासको प्रमुख आधार मध्ये पर्यटन पनि महत्वपूर्ण क्षेत्रको रुपमा रहेको छ । विश्व समक्ष पहिचान दिने विश्वकै अग्लो सगरमाथा, गौतम बुद्धको जन्मभूमि, लगायतका धेरै ऐतिहासिक धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा नेपाल सम्पन्न रहेको छ । नेपाल पर्यटकीय क्षेत्रको रुपमा विश्वसामु चिनिन्छ । पर्यटन प्रर्बद्धन लागि भौतिक पूर्वाधार व्यवस्थापन गर्नु मुख्य काम हो । मुख्य गरी पर्यटन क्षेत्रको समेत विकास गर्ने उदेश्यले स्थापना भएको टुरिजम डेभलपमेन्ट बैंकले यस क्षेत्रमा दियोगदान दिदै आएको छ । हाल टुरिजम डेभलपमेन्ट बैंकको १५ वटा शाखा रहेका छन् । ग्रामीण क्षेत्रमा पनि सुविधा पुर्याउने लक्ष्य बैंकले लिएको छ । अहिले पनि पूर्वदेखि पश्चिमसँग नै बैंकले आफ्नो शाखा स्थापना गरेर सेवा प्रवाह गर्दै आएको छ । आगामी दिनमा पनि थप शाखा विस्तार गर्ने योजना बैंकको रहेको छ । यसै विषयमा टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत महेश ढकालसँगबैंकिङ क्षेत्रको अवस्था, राष्ट्र बैंकले तोकेको समयसीमाभित्र पुँजी पुर्याउनको लागि मर्जरको तयारी, बैंकिङ क्षेत्रमा देखिएका समस्या र आगामी दिनको योजना लगायतको विषयमा केन्द्रीत रहेर बैकिङ समाचारले गरेको कुराकानीः–

CEO2
भुकम्प नाकाबन्दीले बैकिङ क्षेत्रमा कस्तो प्रभाव पारेको ?
–यसले औद्योगिक क्षेत्रमा जाने कर्जालाई धेरै हदसम्म रोक्ने काम ग–यो । असहज परिस्थितिमा पनि कर्जा गएको त छ तर उत्पादनमूलक क्षेत्रमा धेरै नै कमी भएको देखिएको छ । समग्र बैकिङ क्षेत्र र उद्योगलाई असर पुर्याएको छ । भुकम्प र नाकाबन्दीका कारणले लामो समयसम्म समस्यामा नै थियो । हाल केही सुधार देखिएको छ ।
टुरिजम् बैंक पर्यटन क्षेत्रको लागि मात्र सञ्चालन गरिएको बैंक हो ? 
–टुरिजम्सँग सम्बन्धित क्षेत्रहरु जस्तो, पर्यटक बोक्ने हरियो प्लेटको गाडीहरु, ट्राभल एण्ड टुर, होटल व्यवसाय लगायतका क्षेत्रहरुमा हुने लगानीलाई बैंकले प्राथमिकतामा राखेको छ, तथापी यस बैंकले सबै प्रकारका बैंकिङ सेवाहरु प्रदान गर्छ । तुलनात्मक रुपमा यस क्षेत्रमा बढी लगानी गर्ने बैंक हामी नै हो । पर्यटन क्षेत्रमा कर्जा लगानी र यस क्षेत्रलाई आवश्यक पर्ने सुविधाहरु पनि दिएका छौं । नेपालको भविष्य टुरिजम क्षेत्रमा राम्रो रहेको छ । विकासको प्रमुख आधार मध्ये पर्यटन पनि हो । केही समय कुनै कारणले समस्यमा भएपनि यस क्षेत्रको दीर्घकालीन भविष्य राम्रो छ । यस क्षेत्रको विकाससँगै टुरिजम डेभलपमेन्ट बैंकको भविष्य पनि राम्रो रहेको छ ।
पूर्वाधार विकास गर्न बैंकले कहाँकहाँ लगानी गरेका ?
– पूर्वाधार विकास जस्तोकी सडक निर्माण जस्ता क्षेत्रमा हामीले छुट्टै लगानी त गर्दैनौं । हामीले जलबिद्युत विकास लगायतका प्रोजेक्टमा लगानी गर्ने हो । त्यहीँ भित्र सबै निर्माणका कामहरु पर्न सक्छन् ।
हिमाली क्षेत्रमा कसरी काम गरिरहनुभएको ?
–हिमाली क्षेत्र मध्ये जोमसोङमा हामीले शाखा खोलेका छांै । थप सम्भावनाको लागि नाम्चे लुक्ला क्षेत्रमा शाखा विस्तार गर्ने सोचाईमा छौं । पर्यटनको विकाससँगै स्थानीय बासिन्दाहरुलाई बैकिङ सेवा सुविधाबाट सपोर्ट गर्न सकियोस भन्ने उद्धेश्य बैंकले लिएको छ ।

CEO1हाल कति कति वटा शाखा छन ? 
–अहिले १५ वटा शाखाहरु छन् । एटीएम ११ वटा छन । एटीएम र शाखा सङ्ख्या बढाउने क्रममा छौ । अगामी बर्षमा सातदेखि दस वटासम्म शाखा विस्तार गर्ने योजनामा छौं । जहाँ–जहाँ शाखा खोल्छौ त्यहाँ एटीएम पनि एक साथ लैजाने योजनामा छौं । हाम्रो बैंकमा ६० हजार ग्राहकहरु रहेका छन् । कर्मचारीको सङ्ख्या १ सय ७५ जना छन् ।
नेपाल राष्ट्र बैंकले अर्ब ५० करोड पुँजी पुर्याउनु पर्ने नीति ल्याएको , तोकिएकै समयभित्र पूरा गर्न कतिको सहज ? 
–कतिपय बैंक वित्तीय संस्थाहरुलाई गाह्रो पनि होला । तर हाम्रो टुरिजम बैंकलाई भने सहज नै छ । न्युनतम दुई अर्ब पचास करोड रुपैयाँ भन्दा पनि बढी पुर्याउनको लागि समेत समस्या छैन भन्ने लाग्छ । हामीले तीन सय करोडको लक्ष्य लिएका छौं । टप पोजिसनमा बस्नु पर्छ भन्ने उदेश्य बैंकले लिएको छ । अहिले बैंकको ८० करोड चुक्ता पुँजी छ । दुई वटा संस्थाहरुलाई प्राप्ती गर्ने भनेर सम्झौता गरिसकेको छौं । कालिन्चोक विकास बैंक र मातृभूमि विकास बैंकसँग प्राप्ती प्रक्रिया सम्पन्न गर्नको लागि तीन महिनाजति लाग्ला । त्यसपछि एक अर्ब जति पुँजी पुग्छ । बाँकी डेढ अर्ब पुर्याउनको लागि समस्या छैन् । लगानी गर्नको लागि सञ्चालक समिति र लगानीकर्ताहरु तयार हुनुहुन्छ ।
टुरिजम् बैंकले छुट्टै पर्यटन विकासको लागि केही गुरु योजना बनाएको ?
–हामीले छुट्टै प्लान बनाएका त छैनौं । तर कसैले पर्यटन विकासको लागि प्लान बनाएर ल्याएमा लगानी गर्न तयार छौं । हामीले होमस्टेमा पनि लगानी गरेका छौं । नुवाकोटमा कृषि फर्म र होमस्टे सञ्चालन गर्न तीन करोड लगानी गरेका छौं । हाम्रो बैंकले देशका दुरदराजमा रहेका नागरिकहरुलाई बैंकप्रतिको आर्कषण बढाउने कार्यलाई अगाडि बढाएको छ । पर्यटन क्षेत्रमा लगानी गरौं, यसमा भविष्य छ, प्रतिफलमुलक क्षेत्र हो भन्ने जस्ताका साथै पर्यटकिय क्षेत्रहरुको पर्वद्दन हुने गरी प्रचार तथा जनचेतना बढाउने काम पनि गर्ने सोचमा छौं । यसका लागि केहि बजेट नै छुटयाएर अगाडि जाने योजना बैंकले बनाएको छ ।
राष्ट्र बैंकले बैंकहरु तोकिएको क्षेत्रमा जादैनन सुविधा भएको ठाउँमा मात्र बस्छन भनिरहेको नि हो ?
–केही अर्थमा होला पनि । हाम्रो बैंकको कुरा गर्ने हो भने पूर्वमा भोजपुर, ओखलढुङ्गा, मलेखु, जोमसोम, बैतडी लगायतका क्षेत्रमा हाम्रो बैंकका शाखा छन् । आधा भन्दा बढी शाखा ग्रामिण क्षेत्रमा खोलिएका छन् । दुर्गम क्षेत्रमा हामी पुगेका छौं ।

CEO4ग्रामीण क्षेत्रमा किन बैंकहरु जान मान्दैनन ?
–मुख्य चुनौती भनेको आवतजावत गर्न नै सहज छैन । नगद व्यवस्थापन गर्न गाह्रो हुन्छ । संकलन गरेको डिपोजिट लगानी गर्ने क्षेत्र प्रयाप्त छैन । कर्जा लगानी हुन समय पनि लाग्छ । जनताहरुमा पनि बैंकमा पैसा राख्नु पर्छ, सकेसम्म कामहरु बैंक मार्फत गर्नुपर्छ, बैंकबाट कर्जा सजिलै पाउन सकिन्छ भन्ने जस्ता विषयमा जनचेतनाको कमी भएको पाइएको छ । यसको कारणले गर्दा बैंकमा मानिसहरुको कारोवार कम देखिएको छ । दुर्गम क्षेत्रमा कतिपयको त बैंकको कर्जाको व्याज सरकारले मिनाह गरिदिन्छ भन्ने सोच रहेको हो की जस्तो लाग्छ । यसका बाबजुत पनि हामी ग्रामीण क्षेत्रमा पुगेर काम गरि रहेकै छौं ।
प्रत्येक नेपालीको बैंक खाता खोल्न सम्भव ?
–बैंकिङ क्षेत्र महत्पूर्ण भएर पनि जनताको पहुंच कम छ । सरकारले प्रत्येक नेपालीको बैंक खाता हुनुपर्छ भन्ने नीति भर्खरै अगाडि सारेको छ, जुन आवश्यक नै थियो । बैंक खाता खोलेपछि व्यक्तिहरुले नगद बोकेर हिड्नु परेन । सबै कामहरु बैंकबाट गर्दा सहज, सुरक्षित र पारदर्शी हुन्छ । जस्तै, बैंक खाता खोलेपछि घरमै बसेर मोबाइल रिचार्ज गर्न मिल्ने हुन्छ जुन ग्रामिण क्षेत्रमा बढी उपयोगी देखिएको छ । घर निर्माण, व्यवसाय, कृषि लगायतको काममा बैंकलाई साझेदारको रुपमा लिएर हिड्न सके उद्यमशिलताको विकास हुंदै आर्थिक उन्नती हुने हो । यो आवश्यक छ । सरकारले विशेष प्राथमिकता दिएर ग्रामीण क्षेत्रमा बैंक सञ्चालन गर्न सुविधा पनि दिनुपर्छ । जनतामा बैंकिङ चेतना जगाउनु पर्ने आवश्यकता पनि छ ।

यसमा बैंकिङ क्षेत्रको भुमिका के रहन्छ ?
–हामीले दुर्गम क्षेत्रमा जनचेतना जगाउने काम गर्न सक्छौं । प्रचार–प्रसार गर्ने । नागरिकहरुमा जागरण ल्याउने । बैंकर एसोसियसन मार्फत पनि काम गर्न सकिन्छ । जति जति शाखाहरु खोल्दै जान सकिन्छ त्यति नै सहज हुँदै जान्छ । स्कुल कलेज मार्फत पनि स्थानीयमा बैंकप्रति चासो बढाउन सकिन्छ ।
टुरिजम क्षेत्र बाहेक बैंकले अन्य क्षेत्रमा लगानी गरेका कि छैन ?
–हाम्रो प्राथमिकता टुरिजम क्षेत्रका साथै बैंकले गर्ने नर्मल कारोवार सबै हो ।

 

CEO2
राष्ट्र बैंकले एउटै क्षेत्रमा लगानी गर्न बनाएको नीतिले अपठ्यारो पारेको कि छैन् ?
–यसलाई समस्याको रुपमा लिनु हुँदैन । हरेक कुरामा सिलिङ राख्नु स्वभाविक पनि हो । राष्ट्र बैंकले तोकेको सीमा र शर्त भित्रै रहेर काम गरेका छौं । लगानी गर्न बनाएको नीतिले समस्या बनाउंदैन बरु समस्या पर्नबाट जोगाउंछ ।
आगामी दिनमा बैंकको योजना के ?
–हामी अहिले राष्ट्रियस्तरको विकास बैंकको रुपमा छौं । विकास बैंक भएपनि हाम्रो सेवा सुविधा कर्मसिलय बैंक भन्दा कम छैनन् । डलर, पाउण्ड, युरो, येन, युवान जस्ता विदेशी मुद्रा चाहियो भने पनि हामीसँग साधारणतया उपलब्छ हुन्छ । कतिपय सन्दर्भमा हामी अरुभन्दा अगाडि छौं । मोबाईल बैकिङ, एसएमएस बैकिङ सेवाका साथ, भिसा कार्ड, विदेशमा जानको लागि ट्राभल कार्ड जारी गर्ने कार्यहरु यस बैंकले गर्छ । हामीले क्रेडिट कार्ड पनि ल्याउने योजना बनाएका छौं । रेमिटान्सको लागि हामीसँग क्ध्क्ष्ँत् सेवा छ । विदेशी बैँकहरुमा हाम्रो ल्इक्त्च्इ एकाउन्ट छ । हामीले भारतमा पनि भारतिय रुपैंयाको ड्राफट जारी गर्छाै । यस कारण हामी धेरै कुरामा गुणस्तरिय र फरक छांै । हामीसँगै खुलेका केहि बैंकहरु समस्यमा पर्दा पनि हामी कुनै समस्यामा परेनौ । दुई बैंक प्राप्तीसँगै एउटा थप संस्था पनि लिन सकिने योजना बनाएका छौं । पूर्वदेखि पश्चिम सम्म नै उपस्थिति हुने गरी शाखा सञ्जाल बढाउने र आफ्नै कर्पोरेट कार्यालय बनाउने जस्ता योजना पनि रहेका छन् ।
भुकम्पको समयमा कस्तो सहयोग पुर्याउनु भयो ?
–हामीले करिव १७ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका थियौं । दुई प्रतिशत ब्याजमा कर्जा दिने कुरालाई स्वीकार गरेपनि भुकम्प पीडितहरु बैंकमा कर्जा लिन खासै आएका छैनन् ।
राष्ट्र बैंकले दुई प्रतिशतमा भुकम्प पीडितलाई कर्जा उपलब्ध गराउन निर्देशन दिएपनि बैंकहरुले मानेन भन्ने नि ?
– कर्जा दिन नमानेको त हैन तर राष्ट्र बैंकले बनाएको मापदण्ड कडा भएकोले गर्दा हो । भुकम्प पीडितले प्रक्रिया पुर्याउन नै सक्दैनन् । भुकम्प पीडितहरु बैंकमा आएर सहज रुपमा कर्जा पाउने अवस्था छैन् । हामीले सहज रुपमा कर्जा दिन खोजे पनि प्रक्रिया सहज छैन् । हामी विपतको समयमा दुई प्रतिशत ब्याजमै कर्जा दिन चाहन्छौं । सामाजिक दायित्व पनि पूरा गर्न चाहन्छौ । हामीले केहि कर्जा यसमा जान्छ भन्ने सोचेका थियौं तर थोरै मात्र जान सक्यो । मापदण्डको कारण गाह्रो भएको छ ।
बैकिङ क्षेत्रमा गर्नुपर्ने सुधार के हुन ?
बैंकिङ क्षेत्रले आर्थिक विकासमा ठूलो टेवा पुर्याउदै आएको छ । तर पनि गुणस्तरमा सुधार ल्याउनु पर्ने आवश्यकता देखिन्छ । बैंकमा काम गर्ने कर्मचारीहरुको गुणस्तरीयतामा पनि तालिम लगायतका माध्ममबाट सुधार ल्याउनु पर्ने देखिन्छ । एउटै ठाउँमा धेरै बैंकका शाखाहरु छन् । यसले अस्वस्थ प्रतिस्पर्धा पनि गराएको छ र संचालन लागत पनि बढाएको छ । तीन चार वटा शाखाले पुग्ने ठाउँमा आठ दश वटा पुगेका छन् जस्तो पनि देखिन्छ त्यसैले बैंकको संख्या घटाउनु पर्छ भन्ने लाग्छ ।

बैंकिङ क्षेत्रमा साइबर सेक्युरेटीको समस्या निकै जटिल बनेर आएको हो ?
–यो विश्वव्यापी रुपमा देखिएको समस्या हो । थप लगानी गरेर बैंकहरुले आफ्ना प्रविधिलाई व्यवस्थित गर्नुपर्छ । ह्याकिङ गर्नबाट जोगाउन नयाँ टेक्नोलोजीको प्रयोग गर्नुपर्छ । यो बैंकिङ क्षेत्रको ठूलो जोखिम र चुनौतीको विषय हो । पूर्व तयारी गर्नु आवश्यक छ । विगतमा कर्जा जोखिम ठुलो जोखिमको रुपमा थियो भने अहिले साइबर सेक्युरेटी लगायत संचालन जोखिम पनि उस्तै रुपमा देखिएको छ । कतिपय अवस्थामा कर्मचारीको कारणले पनि संचालन जोखिम बढेको देखिएको छ ।

logo tdbl

update news