सहकारी र अस्वस्थ प्रतिष्पर्धा
October 21, 2016

-योगेन्द्र चौलागाई
हुन त राष्ट्रको उच्च ओहदामा बस्ने र राष्ट्रको सर्वाङ्गिण क्षेत्रलाई नियमन्त्रण गर्ने राष्ट्रनायकहरुको नीति फितलो भएको कारणले गर्दा राष्ट्रियस्तरका कुनै पनि निकायहरुमा नियमबद्वताको एकरुपता पाइदैन ।

नियम, कानुन ठेली पल्टाएर हेर्दा अन्तराष्ट्रियस्तरका नियम, कानुन छन् तर तिनलाई कार्यान्वयन गर्ने वातावरण बन्न नसकेर नेपाली गाउँ समाजलाई शहरी परिवेशमा समेत यसको चपेटा परेको छ । अझै भनौं हामी शिक्षित वर्गका मानिसहरु नै नियमभन्दा बाहिर बसेर काम गर्न मन पराउँछौ । राष्ट्रका हरेक सरकारी वा गैरसरकारी निकायहरु नै यसैगरी चलिरहेका छन् ।

जसले गर्दा अनैतिकता मौलाउँदै गएको पाइन्छ । बाहिरबाट हेर्दा नियम, कानुनुमा पूर्णता जस्तो देखिए पनि भित्री कुरा खोक्रिएको हुन्छ , जसको कारण नीति र नियमनको सही सदुपयोग नगर्नु हो । सहकारी क्षेत्र पनि यसबाट अछुतो छैन् । यसो भन्दै गर्दा कतिपय सहकारीकर्मी तथा सञ्चालकहरुलाई चित्त दुखाई वा गुनासो हुने गर्दछ । म पनि सहकारी क्षेत्रमै आबद्व छु ।

विशेषगरी बचत तथा ऋणको कारोबार गर्नका लागि अनुमति पाएका सहकारीहरुे आफ्ना बचतकर्ता, शेयरधनी सदस्यहरुसँग बचत र ऋणको काम गर्ने क्रममा सबैभन्दा बढी लापरवाही हुने संभावना देखिन्छ । सम्भावित क्षेत्रका सम्बन्धीत सहकारीहरुले आफ्ना शेयर सदस्यको व्यापार, व्यावसायको बिस्तारका लागि कर्जा प्रवाह गर्ने गर्दछन् । जसको कारणले व्यवसायीहरुको स्तर उन्नती हुने कुरामा दुईमत छैन् । तर पनि सहकारी र शेयर सदस्यबीच काम कारोबार वर्र्षाैसम्म भइरहदाँ पनि एकअर्कामा पूर्णरुपमा विश्वास गर्ने वातावरण बन्न सकेको छैन् ।

वर्षाैसम्म शर्त र सम्झौतामा चलिरहनुपर्ने वाध्यता देखिन्छ ।एकले अर्कोलाई ठगीको रुपमा देख्ने गर्दछन् । पछिल्लो समयमा ठूलो उद्देश्य लिएर स्थापना भएका सहकारीहरुले साना र मझौला किसिमके व्यवसाय भएका बचतकर्ता तथा सदस्यहरुलाई वेवास्ता गर्ने, बचत तथा ऋणको काम नगर्ने, र ठूला व्यवसायीहरुमात्र सीमित रहने परम्परा बनिसकेको छ ।

यसै कारणले कतिपय सहकारीलाई सेवामुखी भन्दा पनि नाफामुखी दृष्टिले हेर्ने गरेको पाइन्छ । शहरी क्षेत्रमा सहकारीको बढ्दो अस्वस्थ प्रतिष्पर्धाले गर्दा बचतकर्ता तथा सहकारी क्षेत्र दुवैलाई एक अर्कोको विश्वास पाउन गाह्रो अवस्था सिर्जना भएको छ । सहकारीहरु नराम्रा भन्ने होइनन्, कतिपय सहकारीका सञ्चालक तथा व्यवस्थापकको कमजोरीले गर्दा सहकारीको बदनाम हुने गरेको छ । र तयसको असर सम्पूर्ण सहकारी क्षेत्रलाई पर्दछ ।

देखासिकीमा सहकारीको ज्ञान नै नभएकाले पनि सहकारी सञ्चालन गर्ने गर्दा सहकारीको स्तर खस्कदो छ । नेपालको प्रमुख शहर तथा देशको राजधानी काठमाडौंमा सञ्चालित अधिकांश सहकारीहरु आ–आफ्नो कार्यक्षेत्रका व्यवसायी तथा व्यापारीहरुसँग आबद्व छन् ।

जसका कारणले तिनै व्यापारी तथा व्यवसायीहरुले काक, कारोबार गर्नका लागि सहकारी रोज्ने प्रमुख आधार भनेको सहकारी कति पूरानो र कतिवटा शाखा छन् भन्ने नै हुन्छ । यद्यपी उनीहरुले कस्ता व्यक्तिद्वारा सञ्चालित सहकारी हो र यो संस्थाको आगामी उद्देश्य के छ भन्ने कुरा प्रति चासो दिदैँनन् । सदस्यहरु आफू शेयर सदस्य नभई त्यस संस्थाबाट प्राप्त हुने सेवासुविधाहरु लिनका लागि तयार हुन्छन्, तर संस्थाको नीति, नियम र सिद्वान्तलाई मान्ने पक्षमा हुदैँनन् ।

सदस्यहरुले संस्थाबाट ऋण प्राप्त गर्नका लागि देखावटी कारोबार गर्ने, घुक्र्याउने, धम्काउने जस्ता घृणित कार्य गर्न कुनै कसर बाँकी राख्दैनन् । कमजोर र निमुखा व्यवसायीहरु सहकरीको सेवाबाट सधैँ बञ्चित रहने र्गछन् । कतिपय व्यवसायीहरुले व्यापारिक र व्यवसायिक प्रयोजनका लागि लिएको कर्जा अन्य क्षेत्रमा खर्च गरी झनै टाट पल्टिने र संस्थाको कर्जा जोखिमा पर्नु अर्को समसयाका रुपमा टड्कारो देखिन्छ । व्यवसायीहरुले एउटै फर्मको नाममा एकभन्दा बढी सहकारीबाट कर्जा लिई झनै समस्यामा पर्ने गरेको पाइन्छ ।

यस्ता समस्याहरुका कारणले सहकारी–सहकारीबीचको समन्वयन र एकरुपता अत्यन्तै आवश्यक देखिन्छ । यदी व्यवसायी, बचतकर्ता, सदस्यर सहकारीकर्मी तथा सञ्चालकहरुले आवश्क नीति, नियम र उद्देश्य अनुरुपको काम तथा कारवाही गर्ने हो भने राजय र सम्बन्धीत निकायलाई दोष दिइरहनुपर्ने थिएन । दुवै पक्ष सुरक्षित रहने थिए ।

आफूले गल्ति गरेर नियम बिगारिसकेपछि र आफ्नो क्षति भईसकेपछि राज्यलाई दोष दिनुको कुनै औचित्य रहदैँन । त्यसका लागि राज्य, सम्बन्धीत निकाय, सहकारी सञ्चालक तथा बचतकर्ता रसदस्यहरु चनाखो हुन जरुरी छ ।

(चौलागाई पानीट्यांकी सहकारी संस्थाका प्रमुख कार्यकारी हुन्) /हरेकपलबाट

update news