कसका लागि समृद्धि ?
June 20, 2018

बबिता बस्नेत, मेरो एकजना छिमेकी बहिनी छन्, सेयर बजारमा उनलाई रुचि मात्र होइन, जानकारी पनि त्यत्तिकै छ । तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने टुङ्गो लागेपछि निकै उत्साहित हुँदै भनिन्–दिदी, अब गज्जब हुने भो, केपी ओली प्रधानमन्त्री भएपछि सेयरको मूल्य बढ्छ ।

सेयर बजारमा अब छुट्टै माहौल बन्छ, लगानी गर्नुस् है । सुझाब राम्रै भए पनि ‘हुन्छ नि’ भन्ने अवस्था नभएका कारण ल…ल..राम्रो गर मात्र भनेँ । ओली मन्त्रिपरिषद्मा युवराज खतिवडा अर्थमन्त्री हुना साथ ओरालो लागेको सेयर माथि उठ्न सकेको छैन । किन यस्तो भयो भन्ने कुरामा व्यवसायी र मन्त्री खतिवडा दुवै खासै स्पष्ट भएजस्तो लाग्दैन ।

मन्त्रीले सेयर बजारविरोधी भाषण गरिदिएका कारण यस्तो भयो भनिँदै थियो केही अघिसम्म । बोलेर फरक पर्दैन तपाईंहरू नआत्तिनुस् भनेर मन्त्रीले भन्दै गरेको पनि मिडियामार्फत सुनिएको हो । अहिले सानादेखि मझौला हुँदै ठूला सेयर व्यवसायीहरू सबैले नै ‘बर्बाद भइयो’ भनेको सुनिन्छ । सेयर कारोबारमा रुचि नभएकाहरूलाई के भएको हो थाहा नभए पनि बुझ्नेहरूबीच बजारमा जुन उत्साह थियो त्यो सुनसान भने भएको छ ।

स्थायी सरकार भएपछि आर्थिक कारोबार राम्रो हुन्छ भनेर विभिन्न क्षेत्रमा लगानी गर्नेहरूको मुहार निन्याउरो देखिन्छ । ‘वर्षौँ लगाएर गरेको मिहिनेतबाट बैंक ऋणसहित गरी अलिकति जग्गा किनेको थिएँ, बैंकले ऋण बढायो ।

जग्गा नै बेचिदिऊँ न त है भनुँ भने जग्गाको कारोबार ठप्प छ । बढेको ऋण तिर्नका लागि थप आम्दानी गर्ने ठाउँ छैन’ यस्ता ससाना ओत र गुजारावाला सपना देख्नेहरूदेखि लिएर ठूला व्यवसायीहरूमा निराशा नै छाएको देखिन्छ ।

समृद्धिका नाममा यो मुलुकका नागरिकले अब हरेक पाइलामा कर तिर्नुपर्नेछ, तर कमाउने बाटाहरू भने कतै खोलिएका छैनन् । ससाना व्यापार–व्यवसाय गरेर खानेहरूमाथि पनि अङ्कुशे नीतिहरू बन्दै छन् भन्ने हल्लाले मानिसमा काम गर्ने उत्साह घट्दै गएको छ ।

यसपटकको बजेटले जनतामाथि जुन रूपले करको भार थप्यो त्यो केका लागि ? त्यति कर तिरेपछि जनताले के पाउँछन् ? भन्नेचाहिँ कहीँ–कतै उल्लेख गरिएको छैन । यदि सङ्घीयता धान्नकै लागि जनतालाई करको मारमा पारिएको हो भने यस्तो सङ्घीयता कति दिन धानिएला यसै भन्न सक्ने अवस्था छैन ।

बैंकको ऋण लिएर किस्ताबन्दीमा गाडी चढ्नेहरूको सङ्ख्या शहरमा ठूलो छ । म आफू पनि यही लहरमा पर्छु । महाभारतमा युधिष्ठिरलाई गरिएको यक्ष प्रश्नमध्येको एक छ, ‘सबैभन्दा सुखी मान्छे को हो ?’ जवाफमा युधिष्ठिर भन्छन्– जसको ऋण छैन उही सुखी मान्छे हो । बस्ने घरदेखि चढ्ने गाडीसम्म ऋणमा लिएर होला शहरका मध्यमवर्गीय व्यावसायिक व्यक्तिहरूको मुहारमा प्रायः एकप्रकारको छटपटी नै देखिन्छ ।

बैंकको ऋण मात्र होइन, वार्षिक करसमेत बढेपछि यो छटपटी झन् बढेको छ । आफूले चढिरहेको गाडी, मोटरसाइकल या बसिरहेको घरको कर तिर्नका लागि पनि अलि बढी कमाउनुप¥यो, आम्दानीको स्रोत भने उस्तै छ या घटेको छ, कहाँबाट ल्याउनु ?

व्यक्त नगरे पनि यस्तो समस्याबाट गुज्रिनेहरूको सङ्ख्या धेरै छ । सरकार विभिन्न क्षेत्रमा सर्वसाधारणले गरिरहेका कामलाई नियन्त्रण गर्दै छ, तर अब के गर्ने ? या आम्दानीको स्रोत के हो भनेर बाटो देखाउन भने सकेको छैन ।

नेपालको गैरसरकारी संस्थामा ठूलो सङ्ख्यामा जनशक्ति संलग्न छ । गाउँगाउँदेखि शहरसम्म, सर्वसाधारणदेखि विज्ञहरूसमेतको व्यापक संलग्नता छ । विदेशमा पढेका, स्वदेशमैँ गोल्डमेडल पाएकाहरूदेखि आफँै केही गर्छु, अरूलाई पनि रोजगारी दिन्छु भन्नेहरू गैरसरकारी क्षेत्रमा छन् ।

सरकारले रोजगारी दिन नसकेको अवस्थामा ठूलो जमात गैरसरकारी संस्थामार्फत काम गरिरहेको छ । गैरसरकारी संस्थालाई व्यवस्थित गर्दै विभिन्न क्षेत्रमा सहयोग बढाउनका लागि यो सरकारले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्ला भन्ने अपेक्षा गरिएको थियो । तर, अपेक्षाविपरीत अङ्कुशे नीति लागू गर्ने सक्रियता देखिएको छ ।

गैरसरकारी संस्था सुधारका लागि गर्नुपर्ने कुरा धेरै छन् तर जुनप्रकारको नीति अपनाइँदै छ त्यसले मुलुकलाई समृद्धितिर लाँदैन । गैरसरकारी संस्थालाई काम गर्ने वातावरण नदिएपछि स्वाभाविक रूपमा नेपाललाई आउने पैसा अन्य मुलुकमा जानेछ ।

२०६३ सालपछि गिरिजा सरकारले अलिकति संवेदनशीलता अपनाइदिएको भए मुलुकलाई आउने ठूलो क्यानेडियन सहयोग बंगलादेश जाने थिएन । जसले गरे पनि आखिर नेपालीहरू संलग्न छन्, कामसँगै सरकारको बोझ पनि कम भएको छ भन्ने सोच हाम्रो छैन ।

प्रधानमन्त्रीका रूपमा केपी ओली आएपछि भएको सबैभन्दा राम्रो कुरा समृद्धि सपना हो । मुलुक यस्तै त हो, खै के होला र ? भनेर मानिसहरूमा निराशा छाइरहेको बेला कम्तीमा उहाँले सपना देखाउनुभयो । सपनाको कुनै सीमा हुँदैन, सपना देख्नबाट कसैले रोक्न पनि सक्दैन ।

मन खण्डहर अवस्थामा पुगेको बेला कहिलेकाहीँ सपना देखाउने मानिस पनि चाहिने रहेछ । तर, त्यो सपनालाई कसरी पूरा गर्ने भन्ने योजना भने सपना देख्न र देखाउनेहरूसँग हुनुपर्छ । नत्र सपना सपनामै सीमित रहन्छ ।

समृद्धि सपना पूरा गर्नका लागि मुलुकमा उद्योग–व्यवसायहरूको स्थापना हुने अपेक्षा गरिएको थियो । अपेक्षा गरिएको छ पनि भन्न सकिन्छ, तर बजेटले यस्ता कुराहरू नसमेटेका कारण थियो भनेर भन्नुपर्ने अवस्था आएको हो ।

कृषिदेखि प्रविधिसम्ममा अहिले समृद्धिका कुराहरू जोड्ने गरिएको छ । समृद्धिको अर्थ मुलुकको आर्थिक अवस्थासँग जोडिएकाले यी सबै कुरामा समृद्धिलाई जोड्नु गलत होइन । समृद्धिका लागि आर्थिक कुरासँगै स्वास्थ्य र खुसीले पनि त्यत्तिकै अर्थ राख्छ ।

खुसी, अर्थ र स्वास्थ्यबीच गज्जबको सम्बन्ध छ । धेरै निराशा र दुःखहरू आर्थिक अवस्थासँग जोडिएका हुन्छन् जसले मानिसलाई रोगी बनाउन मद्दत गर्छ, यी दुवैको अभावमा मानिस खुसी हुन सक्दैन । मुलुकको समृद्धिका लागि जनताको समृद्धि अपरिहार्य छ ।

जनताको समृद्धिका लागि मुलुकको आर्थिक अवस्था चलायमान हुन आवश्यक हुन्छ । सिंहदरबार या बालुवाटारमा हुने चलखेलले मुलुकमा धुनधानै केही भइरहेको छ भन्ने भ्रम दिन सक्छ, तर आर्थिक नीतिको प्रभाव हो या ‘खै अब के होला’ भन्ने त्रास आर्थिक रूपमा मुलुक चलायमान छैन ।

यदि यही अवस्था रहिरहने हो भने अहिले सबैलाई राम्रो लागेको ‘समृद्धि’ शब्द हिजोको ‘नयाँ नेपाल’झैँ व्यङ्ग्यको पर्यायवाची नबन्ला भन्न सकिन्न । नेपालीहरू यो शब्दलाई जस्ताको तस्तै अर्थ दिने गरी जोगाउन चाहन्छन् । समृद्धि सपनालाई वास्तविकतामा परिणत गर्ने वातावरण बनाइयोस् । घटना र विचारको साथमा ।

update news